हामी नागरिक बन्ने कहिले ? महिला अधिकार किन कुण्ठित छ ?

नेपालमा ठुला ठुला युद्द र जनआन्दोलनहरु भए । सार्वभौम सत्ता सम्पन्न नागरिक बन्नका निमित्त । परिणामतः जनताद्वारा जनताकै संविधान लेख्ने चरणको प्रादुर्भाव भयो । म पूर्ण आशावादी थिएँ कि महिला हकहितको कुरा सुनिश्चित गर्ने सवाल र महिलालाइ पूर्णनागरिक बनाउने कुरामा कुनै कन्जुस्याइँ हुनेछैन।
तर, ,विडम्वना आज महिलाको जीवनचर्या ज्यूँको त्यूँमात्र होइन अझ बढि दायित्वको भारले किचिएको र अधिकारका नाममा सम्पूर्ण हिसाबले चिरहरण भएको देख्छु। परिवर्तनको नाममा एकाध पुरुषका छोरी श्रीमतिहरुले राज्यसत्ताको स्वाद चाखे तर महिला को अधिकार सुरक्षित गर्ने सवालमा भने कुनै पहलकदमी लिएको देख्न र सुन्न पाइएन । फर्किएर हेर्दा नेपाली महिलाको उन्मुक्ति पाउने सपना असरल्ल भएकोमा हिजो अधिकार प्राप्तीका निम्ति ज्यान दाउमा लगाएर लड्ने महिलाहरु खेद व्यक्त गरिरहेछन्।

आज हामीले जन्माएका सन्तान बाबुले नागरिकता दिए नागरिक भए नत्र पहिचानविहीन हुदै पढ्नेलेख्ने, नगरिकता प्राप्त गर्ने, पैतृक अधिकार प्राप्त गर्नेदेखि यावत अधिकारबाट बन्चित हुँदै आफ्नो जीवन आफ्नै अगाडी तहसनहस हुँदै नारकीय जीवन अँगाल्न बाध्य भैरहेको दर्जनौं दृष्टान्त मसँग संग्रहित छन्।

खै कहाँ आयो महिलाहरुलाइ गणतन्त्र ? आफ्नो छोरीहरु अन्जान अबस्थामै बलात्कारको शिकार भै मृत्युवरण गर्न बाध्य छन् । शताब्दीले जति फन्का मारेपनि हाम्रो स्थिति झन जर्जर भएको छ । जीवन नै रित्तिने गरि व्यक्तिगत जीवनतिर फर्किएर नहेरी लड्दालडदा आफै अनुत्तरित भएको छु कि, आउने पिढी जो मेरो छोरीबुहारीलाई हामिले के दिन सक्यौं ?

के सम्पतिमा मेरी छोरीको समान अधिकार छ ?
के म र मेरो छोरीले आफ्नो सन्तानलाई नागरिकता दिने कुरा व्यवहारमा लागु भयो ?
के राज्यको हरेक अङगमा महिला सहभागिता ३३ प्रतिशत भनिएकोमा जात र वर्गपनि घुसाएर महिला सहभागितालाई बढाइयो ?
के छोरीले नागरिक को हैसियत प्राप्त गरिन् ? जबकी छोराले विदेशी बुहारीलाई नागरिकता दिलार्इरहँदा नेपाली छोरीले विदेशी ज्वार्इंलाई नागरिकता दिलाउने बारे कुनै ब्यबस्था गरियो ?

आजका दिनहरुमा म सक्षम हु भन्ने महिलाहरुले घर, बालबच्चा र आर्थिक उपार्जनमा एकसाथ होमिनुपरेको छ । यस्तो दोहोरोतेहेरो जिम्मेवारी बरु मेरा आमा र हजुरआमाले उठाउनु परेको थिएन । निश्कर्षमा भन्नुपर्दा महिलाको अधिकारलाई सीमित गर्ने र निरीह बनाउने तरिका र स्वरुपमात्र बदलिएको छ । व्यवहारमा त झन कुण्ठित र पीडित भएको महशुष भएको छ । इतिहासदेखि आजसम्म नियाल्दा महिला वा पुरुष कसैले पनि महिलाको सामर्थ्यलाई कदर गरेको देखिँदैन । महिला जतिनै सामर्थवान किन नहोस्, पुरुषको नै उच्च मुल्याङ्कन हुनेगरेको तीतो यथार्थ रहेको छ । महिला अधिकारलाई अब भने संविधान र कानूनको दस्तावेजमा मात्र होइन हाम्रा जीवनहरुमा लागू गर्नपर्छ । महिलाले पनि आफुलाई अधिकारसम्पन्न रहेको महशुष गराउन सक्नुपर्छ । सबैले ठोस रुपमा महिलाका अधिकारहरु प्रत्याभूत गर्न लागिपरौं ।

तानपा १० मनमैजु बस्ने थापा महिला अधिकारकर्मी एवं सामजिक अभियन्ता हुन् ।

१६ भाद्र २०७७, मंगलवार