अवैध बालुवाको ‘राजधानी’ तारकेश्वरः प्रहरी निरीह, नगरपालिका मौन

तारकेश्वर, १८ भदौ । तारकेश्वर नगरपालिका भएर बग्ने सांग्ले खोला र महादेव खोलामा खुलेयाम रुपमा अवैध बालुवा उत्खनन् हुँदा पनि नियमनकारी निकायले रहस्यमय मौनता साँधेको पाइएको छ ।

नगरका यी दुईखोलामा विशेषगरि वर्षायाममा बालुवाको अवैध चोरी निकासी सामान्यजस्तै भइसकेको छ । यो समयमा यी खोलाका किनारमा बालुवाको रास मंसिरमा खेतमा हुने परालको कुन्युहरुजस्तै गरि फिजिएको छ । त्यो सबै बालुवा अवैध उत्खनन् भएको थाहा पाएर पनि न त प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छ न त स्थानीय सरकारले नै ।

राति राति उत्खनन्, एक भारीको २० देखि ३० रुपैयाँ
यी खोलाहरुमा पानी परेको दिन भोलिपल्ट बिहान र पानी नपरेका दिन रातिराति बालुवा निश्कासन गर्ने गरिएको छ । महादेव खोला र सांग्ले खोला दुवै राम्रो बालुवा पाइने खोला हुन् । राति उत्खनन् गर्दा पुलिस नआउने भएकाले पानी नपरेका दिन राति राति दर्जनौं मजदूर लगाएर बालुवा उत्खनन् हुन्छ । एक मिनिट्रकको कम्तिमा ५-६ हजारमा बिक्रि हुन्छ । दिनभर वा रातभर बालुवा निकाल्ने मजदूरले कम्तिमा २ हजार जति आम्दानी गर्छन ।

‘हामीसँग पाँच छ हजारमा लैजान्छन् उनीहरुले त महंगोमा बेच्लान नि !’ खोला किनारमा खेत भएका एक किसानले तारकेश्वर अनलाईनलाई बताए । नाम नबताउने शर्तमा उनले अवैध बालुवा उत्खनन् भएको थाहा पाएर पनि प्रहरी र स्थानीय सरकारले बेवास्ता गरेको अनुभव सुनाए । ‘बालुवा उत्खनन् हुँदै गर्दा आउने पुलिससमेत पैसा खाएर चुप लाग्छन् । प्रहरी अनुगमनमा आउनुअघि नै सबैलाई खबर हुन्छ यस्तो पनि हुन्छ ?’ उनले आक्रोश पोखे ।

खेत किनार भाडामा, प्रहरी निरीह
यी खोलामा बालुवा निकाल्न कतिपय मजदूर र कतिपय खेतधनि नै सक्रिय रहन्छन् । आफु काम नगर्ने खेतधनिले आफ्नो साँधको खोला भाडामा लगाएका छन् । उनीहरुले १५ हजारदेखि ५०-६० हजारसम्म भाडा उठाउँछन् । खुलेयाम बालुवा उत्खनन् हुँदा र उपयुक्त स्थान नहेरी जथाभावी खोला कोतर्दा खोला गहिरिएको, खेत काटेको र सिचाईं हुन छाडेको किसान र स्थानीय जानकारहरुको गुनासो  छ । तर पनि उत्खनन् रोकिएको छैन । उल्टो प्रहरी बालुवा व्यापारीको प्रभावमा पर्ने र देखेनदेखे गर्नेगरेको स्थानीयहरुको आरोप छ ।

नगरपालिकाको अनौठो मौनता, निकासी गर्न ३ करोडको ठेक्का
तारकेश्वर नगरपालिकालाई खुलेयाम रुपमा अवैध बालुवा उत्खनन् भएको थाहा छ । तर, उसले त्यसलाई वैज्ञानिक उत्खनन् बनाउन र अवैध उत्खनन् रोक्न हस्तक्षेपकारी भूमिका खेलेको छैन । बरु अवैध रुपमा उत्खनन् भएका बालुवा निकासी गर्नका लागि ठेक्का गरेको छ । अघिल्लो वर्ष ३ करोडको ठेक्का गरेको नगरले यो आर्थिकवर्षमा न्यूनतम मूल्य २ करोडमात्र राखेर ठेक्का प्रकृया अघि बढाएको नगरपालिकाले स्रोतले जनायो । तर, हाल उत्खनन् भइरहेका बालुवा भने न त करको दायरामा आउन सकेका छन् न त यसरी नगरले उत्खनन् गर्न स्वीकृति दिएको छ । तारकेश्वरको नगरकार्यपालिका र निर्वाचित जनप्रतिनिधिहरुले चासो नदिँदा तारकेश्वरमा अवैध प्राकृतिक स्रोतको दोहन जारी रहेको छ ।