गंगामाया अधिकारी पुनः अनशनमा, स्वास्थ्य अवस्था नाजुक
काठमाडौं, ९ पुस । गंगामाया अधिकारीले पुनः आमरण अनसन सुरु गरेकी छन् ।
राष्ट्रिय ट्रमा सेन्टरको सातौं तल्लामा उनले आइसोलेसन बेडबाटै सत्याग्रह सुरु गरेकी हुन् ।
गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएपछि न्यायका लागि भन्दै आमरण अनसनमा बसेकी हुन् । उनका छोरालाई तत्कालिनमा माओवादीहरुले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए ।
त्यसपछि गंगामाया र उनक पति नन्दप्रसाद अधिकारीले राज्यका हरेक निकायमा पुगेर छोराको हत्यामा संलग्नलाई कानुनअनुसार कारबाही गरिपाऊँ भनी निवेदन दिएका थिए । तर, कतैपनि सुनुवाइ नभएपछि उनीहरु काठमाडौं आएर २०७० साउन देखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि सडकमै अनसन बस्न सुरु गरेका थिए । हालसम्म पनि उनले आफूले न्याय नपाएको भन्दै फेरि अनसनमा बस्नु परेको बताएकी छन् ।
१२ औं पटक अनसनमा बसेकी गंगामायाले पटकपटक न्याय पाउने आश्वासन पाएपनि हालसम्म न्याय पाउन नसकेको हुनाले यस पटक न्याय नपाएसम्म अनसन नतोड्ने पनि बताएकी हुन् ।
९ पुष २०७७, बिहीबार