आज महाशिवरात्रि पर्व, नुवाकोटको दुप्चेश्वर महादेवको मन्दिरमा दर्शनार्थीको घुइँचो

नुवाकोट २७, फागुन । आज महाशिवरात्रि आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ । नुवाकोटको दुप्चेश्वर महादेवको मन्दिर सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ ।
शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
शिवरात्रिको दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।
भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीसमेत नुवाकोटको दुप्चेश्वर महादेवको मन्दिरमा दर्शन गर्न आउने गरेका छन् । आज विहानै देखि नुवाकोटको दुप्चेश्वर महादेवको मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।