माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगीत

काठमाडौं २, चैत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
चैत १ गते देखि सन्चालन भएको नेकपा(माओवादी केन्द्र)को संसदमा रहेका राजनीतिक दलसँग वार्ताको प्रक्रिया अगाडि बढाउनको निम्ति केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
अबको दिनमा केन्द्रीय कमिटी सदस्यहरुले संगठनात्मक काम गर्ने र बैठक राखिने श्रेष्ठले बताए ।
केन्द्रीय कमिटी बैठकपछि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।
श्रेष्ठले बताए – ‘हामीले एक त यस अघि नै निर्णय भइसकेको हो तैपनि छिट्टै सर्वोच्च अदालतमा, अदालतको पछिल्लो आदेशका सन्दर्भमा पुनरावलोकन गर्नेछौँ ।
तत्कालीक राजनीतिक परिस्थितिसँग जोडिएका कार्यभार पूरा गर्नको निम्ति सबै राजनीतिक पार्टीहरु सँग विशेषत्ः संसदमा भएका अरु दुई मुख्य राजनीतिक पार्टीहरुसँग वार्ताको प्रक्रियालाई तीव्र बनाउने छौँ र त्यसपछाडी अहिले नै हाम्रो सबै कमरेडहरु जिल्ला जिल्लामा र प्रदेशहरुमा जानेछन ।
अहिले नै निर्धारित गरेको जिम्मेवारी अनुसार उहाँहरुले तलसम्म एकसरो संगठनात्मक काम गर्नुहुनेछ ।
त्यसपछाडी फेरि हामी केन्द्रीय कमिटीको बैठक सुरुवात गर्नेछौ र यो स्थगित गरिएको केन्द्रीय कमिटीको बैठक नै सुरुवात गरिसकेपछि हामीले त्यस पछाडि राष्ट्रिय कार्यकर्ता भेला पनि सम्पन्न गर्नेछौँ ।’
सोमबारको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदीप आचार्य, हेमराज भण्डारी, पुष्पविक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाइली, परशुराम रम्तेल, जयपुरी घर्ती, कुमार पौडेल, रामचन्द्र झा लगायत २० जना केन्द्रीय कमिटी सदस्यले वर्तमान राजनीतिक परिस्थिति, पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनका विषयमा आ–आफ्नो धारणा राखेको नेता श्रेष्ठले जानकारी दिए ।