राष्ट्रपति विद्या देवी भण्डारी बंगलादेश प्रस्थान
तारकेश्वर ९, चैत । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि बङ्गलादेश प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले सोमबार बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडान मार्फत ढाका प्रस्थान गर्नुभएको हो ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा ढाका जान लागेकी हुन् ।
राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी त्रिभुवन विमानस्थलमा पुगेका थिए ।
बिहान १० बजे ढाकामा उहाँलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रले स्वागत गर्ने बताइएको छ ।
राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ले सम्मान गरिने भएको छ । राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ। ।
भ्रमणमा भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेललगायत ५४ जना रहेका छन् ।