कामपाले सिसडोल ल्याण्डफिल साइड प्रभावितका लागि ६ करोड दिने
नुवाकोट १९, चैत । काठमाडौँ महनगरपालिकाले नुवाकोटको सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रलाई ६ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
सिसडोलका फोहोरमैलाबाट प्रभावित शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर चैत १३ गतेदेखि फोहर व्यवस्थापनमा अवरोध गर्दै आएपछि कामपा र प्रभावितबीच भएको छलफलमा काठमाडौं महानगरपालिकाले व्यवस्थापनका लागि ६ करोड दिने भएको हो ।
प्रभावित र कामपा बिच भएको छलफलका क्रममा महानगरपालिकाका प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँशी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, शिक्षक मागका सम्बन्धमा तत्काल प्रक्रिया थालनी गर्ने, प्रभावित क्षेत्रमा १५ शैयाको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने, १५ वटा शैया र चार चिकित्सकका लागि आवश्यक रकम सहयोग गर्ने सम्झौता भएको छ ।
महानगरपालिकाले ककनी गाउँपालिकाका लागि एम्बलुलेन्स समेत उपलब्ध गराएको छ । प्रभावित क्षेत्रका विद्यालयमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको दरबन्दी पूरा गर्ने सन्दर्भमा नेपाल सरकारबाट स्थायी पदपूर्ति गरेपछि स्वतः हट्ने गरी तत्कालका लागि करारमा शिक्षक नियुक्त गरिने भएको छ ।