एमाले बागमती प्रदेशका सबै जिल्ला कमिटी अधिवेशन आयोजक कमिटीमा रुपान्तरण, भदौभित्र अधिवेशन

तारकेश्वर २९, चैत । नेकपा एमालेको बागमती प्रदेश कमिटी अन्तर्गतका १३ ओटै जिल्लाको अधिवेशन आगामी भदौभित्र गरिसक्न निर्देशन दिएको छ । प्रदेश कमिटीको हिजो शनिबार बसेको बैठकले चितवनबाहेक १३ वटै जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरी अध्यक्ष र सचिव तोकेको हो ।

सबै जिल्ला अध्यक्षहरूमा गत पुस ५ मा नेकपा विभाजनपछि केपी ओली पक्षले बनाएको कमिटीको अध्यक्षलाईनै निरन्तरता दिइएको छ भने केही जिल्लामा सचिव नयाँ चयन भएका छन् ।

चितवनमा भने तत्कालीन अध्यक्ष कृष्णभक्त पोखरेल संस्थापन पक्षमा लागेकाले उनकै अध्यक्षतामा बैठक बसेर पार्वती रावललाई अध्यक्ष बनाइ जिल्ला अधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने सहमति भएको छ ।

काठमाडौंमा सचिव चयन गर्न बाँकी रहेको छ । बैठकले ३२९ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

कमिटीमा यसअघि नेकपाकालीन प्रदेश सदस्य रहेका माधव नेपाल पक्षकाहरूलाई पनि यथावत राखिएको छ भने १२ जना माओवादी नेताहरू एमालेकै प्रदेश कमिटीमा बसेका छन् ।

एमाले बागमती प्रदेश कमिटीका इञ्चार्ज रामबहादुर थापा बादलको उपस्थितिमा बसेको बैठकले वैशाख २० गते १३ वटै जिल्ला कमिटी पुनर्गठन गरि बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

सबै जिल्ला अधिवेशन आयोजक कमिटीमा अध्यक्ष र सचिव रहने र असार मसान्तभित्र सदस्यता नवीकरण गरी भदौभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय भएको प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले बताए ।

त्यस्तै वैशाख २५ गते प्रदेशभित्रका ११९ ओटै स्थानीय तहमा एकै दिन कमिटी पुनर्गठन गरी सम्मेलन आयोजक समितिको बैठक सञ्चालन गर्ने निर्णय भएको छ ।
बैठकमा माधव नेपाल पक्षका नेताहरू भने सहभागी थिएनन् ।

प्रदेश कमिटीको सूची केन्द्रीय कमिटी बैठकबाट अनुमोदन भएपछिमात्र सार्वजनिक गरिने भएको छ ।

२९ चैत्र २०७७, आईतवार