तारकेश्वरमा मोटरसाइकल चोरी गर्ने नुवाकोटका ३ जना पक्राउ
तारकेश्वर ७, वैशाख । काठमाडौंको तारकेश्वर नगरपालिकामा मोटरसाइकल चोरको बिगविगी बढ्न थालेको छ । तारकेश्वर नगरपालिकाको वडा नं ६ स्थित पैयुटारमा घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल चोरीको आरोपमा पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं ४ घर भई हाल तारकेश्वर नगरपालिका वडा नं ९ बस्ने बर्ष २० को नमराज अधिकारी र बर्ष २२ को रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका वडा नं ३ घर भई हाल तारकेश्वर नगरपालिका वडा नं ९ बस्ने बर्ष १९ को रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।
पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान महाशाखाले चलाएको छ ।
तारकेश्वर नगरपालिका १० नं वडा कार्यालय शुभकामना चोक स्थित सडक खण्डमा बास्तबिक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिडेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको हो ।
मोटरसाईकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सी सी को कालो रातो रङ्गको पल्सर मोटरसाईकल रहेको पाइएको छ ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त गौशालामा पठाइएकोव छ ।