“एक मिनेटमा एक जनामा कोरोना संक्रमण” २ घण्टामा १ जनाको मृत्यु
काठमाडौँ, १२ वैशाख । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।
पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ । केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ ।
शनिबार मात्रै तीन महिनायताकै १४ संक्रमितको मृत्यु भएको छ ।
संक्रमणदर बढ्दै गए भएका संरचना धान्न सक्ने अवस्था नभएको सरकार आफैंले बताइसकेको छ । मुख्यतः भारतमा संक्रमणदर बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो ।
बिरामीमा सुधार हुने अनुपात पनि घट्दोक्रममा रहेको भन्दै कोरोना संक्रमण दिन दुई गुणा, रात चौगुनाको दरले बढ्दै गएको छ । जनस्वास्थ्य विज्ञले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । सही तरिकाले मास्क लगाउने, भौतिक दूरी कायम, भिडभाडमा नजाने, भिडभाडसहितको भोजभतेर नगर्ने, बन्द कोठामा बैठक वा भेटघाट नगर्ने तथा नियमित हातको सफाइ गर्ने बानी भए संक्रमण नसर्ने डाक्टरहरु बताउँछन् ।
नेपालमा संक्रमित हुनेको सख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल, नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार ८ सय २८ पुगेको छ । देशभर शनिबार ३ सय ६८ संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७६ हजार १ सय २३ संक्रमित निको भएका छन् । गएको २ गते पाँच सय ३४ जनामा कोरोना पुष्टि हुँदा पाँच जनाको मृत्यु भएको थियो।
शनिबार दुई हजार ६ सय १९ जनामा पुष्टि हुँदा १४ जनाको मृत्यु भएको छ ।
गत वर्षको भन्दा यो वर्ष देखिएको संक्रमणले भयावहको रुप लिन सक्ने विज्ञले चिन्ता व्यक्त गरेका छन्।
नेपालको पश्चिमी क्षेत्रमा बढी यूके भेरिएन्ट भाइरस फैलिएकोले अहिले सरकार र जनता दुवै सजग नभए मुलुकले नराम्रो नोक्सान व्यहोर्न सक्ने अवस्था आउने सक्ने सरुवा रोग विज्ञहरुले दावी गरेका छन् । केही समय संक्रमणको दर कम हुँदा नेपालमा कोरोना हटेको जस्तो सरकारले सोचेकाले पुनः संक्रमण फैलिएको डाक्टरहरुको दावी रहेको छ ।
देशभर १ सय ९० जना आईसीयू र ६९ जना संक्रमित भेन्टिलेटरमा छन् । १ हजार १ सय ८० आईसीयू र ५ सय १२ वटा भेन्टिलेटरमात्रै उपलब्ध रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामी राख्ने ठाउँ न्यून छ । नेपालगन्जस्थित भेरी अस्पतालमा १ सय ४२ बेड कोभिड–१९ का बिरामीका लागि छुट्याइएको सबै बेड भरिइसकेका छन् ।
१२ बैशाख २०७८, आईतवार