भारतमा कोरोना कहर : एकैदिन ४ लाख २ हजार बढी संक्रमित थपिए

काठमाडौँ, १८  वैशाख । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि बढ्दो क्रममा छ ।

पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ ।

एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।यसअघि हिजो ३ लाख ८६ हजार ३२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ५४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ । यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।