भारतको कोरोना संक्रमणमा नयाँ रेकर्ड : एकैदिन ४ लाख १२ हजार भन्दा बढीलाई कोरोना संक्रमण, ३ हजार ९८२ जानको मृत्यु

तारकेश्वर २३, वैशाख । भारतमा कोरोना संक्रमणले एकपछि अर्को रेकर्ड राखिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक दिनमा भारतमा ४ लाख १२ हजार ६ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन कुनै पनि देशमा ४ लाख १२ हजार भन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो ।यसैगरी पछिल्लो एक दिनमा ३ हजार ९ सय ८२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ३० हजार १ सय ५१ पुगेको छ । भारतमा अहिलेसम्म २ करोड १० लाख ७० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७२ लाख ६९ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजारभन्दा ६२५ रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ६७ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो ।

भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

२४ घण्टाभित्र यति धेरै सङ्क्रमितको मृत्यु भएको भारतमा पहिलो पटक हो । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । अहिलेसम्म दुई लाख ३० हजार एक सय ५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । नेपालसँग खुला सीमा जोडिएको भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

सङ्क्रमण पुष्टि भएको सङ्ख्याका आधारमा कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ४२ हजार तीन सय २२ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमित सङ्ख्या तीन करोड ३३ लाख १७ हजार चार सय ३७ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ६० लाख १६ हजार नौ सय ८९ जना उपचारपछि निको भएका छन् ।

६७ लाख सात हजार तीन सय २४ जनाको उपचार जारी छ । उपचाररतमध्ये नौ हजार चार सय ११ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा अमेरिकामा सात सय १८ सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ९३ हजार एक सय २४ पुगेको छ । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन ७५ हजार छ सय ५२ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमित सङ्ख्या एक करोड ४९ लाख ३६ हजार चार सय ६४ पुगेको छ । एक करोड ३५ लाख २९ हजार पाँच सय ७२ जना उपचारपछि निको भएका छन् ।