अझै चलेन साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन, जनशक्ति र करोडौंको संरचना उपयोगहीन

तारकेश्वर, २७ बैशाख । तारकेश्वर नगरपालिकाको चरम उदासिनताका कारण कोरोना महामारीको वर्षदिन नाघिसक्दा समेत साङलास्थित प्राथमिक स्वास्थ्य केन्द्र उपयोगविहीन बनेको छ ।

नगरका जनप्रतिनिधिहरुको बेवास्ताको शिकार हुँदा १० औं करोडको लगानीमा भवन विभागले बनाएको भवन उपयोगविहीन हुनुका साथै २० वटा बेड उपयोगविहीन भएको हो । अघिल्लो वर्ष नै भवनलाई आइसोलेसन सेन्टर बनाएर कोरोना संक्रमितको सुरुवाती अस्पताल बनाउने बताएपनि नगरले एकवर्षसम्म पनि केही गर्न नसकेको हो । एकवर्ष अघि नै प्राथमिक स्वास्थ्य केन्द्रले मेडिकल सहायतासहितको कोरोना उपचार सेवा सुरु गर्ने भनेपनि नगरपालिकाले प्राविधिक सहयोग र समन्वय नगर्दा सञ्चालनमा आउन नसकेको हो ।

सांसदको निर्देशन अटेर, नगरप्रमुखको उल्टो बाटो
एकवर्ष अघि नै यस क्षेत्रका प्रदेश सांसदहरुले साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको भवन अवलोकन गरेर आइसोलेसन सेन्टर सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यसका लागि उनीहरुले सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिवद्धता जनाएपनि तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराको उल्टो बाटोका कारण भवन र जनशक्ति उपयोग विहीन भएको हो । अघिल्लो साल नै प्राथमिक स्वास्थ्य केन्द्रका अधिकारीहरुले नगरलाई आइसोलेसन सेन्टर चलाउन सामान्य पल्स अक्सिमिटर, अक्सिजन कन्सन्ट्रेशन लगायत सामाग्री माग गरेका थियो । तर, नगरले सो समेत गरेन । बरु कोरोना संक्रमितको परिवालाई पोषण भत्ता बाँड्ने भनेर नितान्त अनुत्पादक र उल्टो बाटो समात्यो । कोरोना भत्ताका नाममा १० औं लाख भत्ता बाँडेको नगरले न त सबै संक्रमितलाई भत्ता दिनसक्यो न त अस्पताल नै सञ्चालनमा ल्याउन सक्यो । किन आइसोलेसन सेन्टर सञ्चालनमा नआएको बारेमा नगरका मेयर कुनै प्रतिक्रिया दिँदैनन् ।

१२ जना स्वास्थ्यकर्मी कामविहीन, एउटा पिपीई समेत छैन
कोरोना संक्रमण बढ्दै जाँदा सयौं बिरामी राखेर उपचार गर्न सकिने भौतिक संरचना भएको केन्द्रमा १२ जना कर्मचारी छन् । तर, उनीहरु कामविहीन भएका छन् । कोभिड संक्रमण फैलिँदा समेत उच्च जनशक्ति कामविहीन भएको कुरालाई नगरपालिकाले बेवास्ता गरेको छ । कोरोना संक्रमितलाई मात्र नभै कोरोनाको जस्तो लक्षण भएका मानिसलाई समेत सेवा दिन सक्ने अवस्था नभएको केन्द्रका स्वास्थ्यकर्मीको भनाइ छ । साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज सिअहेव फत्तेबहादुर गुरुङ नगरपालिकालाई आवश्यक सामाग्रीको बारेमा माग पठाइसकेको बताउँछन् । यद्यपी कहिलेबाट उपचार सुरु हुन्छ भन्ने बारेमा आफुले भन्न नसक्ने उनले तारकेश्वर अनलाईनसँगको कुराकानीमा बताए ।

२० वटा अक्सिजन सिलिन्डर प्रयोगविहीन
कोरोना संक्रमितलाई भर्ना नै नलिने प्राथमिक स्वास्थ्यकेन्द्रले अक्सिजन सिलिन्डर भने जम्मा गरेको छ । अक्सिजनको अभावमा अस्पतालहरुले बिरामी लिन छाडेको बेलामा नगरपालिकाले भने अक्सिजन ओगटेर उपचार सेवा भने सुरु नगरेको हो । नगरले २० वटा अक्सिजन सिलिण्डर जम्मा गरेपनि स्वास्थ्यकर्मीलाई एकजोर व्यक्तिगत सुरक्षा पोशाक (पिपिई) र अक्सिमिटर, अक्सिजन माक्स लगायत सामान्य उपचार सामाग्री पनि उपलब्ध गराउन सकेको छैन ।

२७ बैशाख २०७८, सोमबार