नुवाकोटका बैङ्क तथा वित्तीय संस्था कोरोना फैलाउने अड्डा बन्दै

नुवाकोट, ५ जेठ । देशव्यापी रूपमा फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसको नियन्त्रणमा नुवाकोटमा वैशाख २१ गतेबाट निषेधाज्ञा जारी भएपनि खासै प्रभावकारी भने हुनसकेको छैन । नुवाकोटमा निषेधाज्ञा जारी भएको दुई साता बितिसक्दा पनि बैङ्क तथा वित्तीय संस्थहरुमा सेवाग्राहीको चहलपहल घटेको छैन । नुवाकोटमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा यसरी बैङ्किङ संस्थाहरु खुल्दा जिल्लामा संक्रमणको दर झन बढिरहेको छ । बैंकमा यसरी मानिसको भीड हुँदा पैसाको माध्यमबाट भाइरस सर्ने सम्भावना रहन्छ । नुवाकोटमा यसरी वित्तीय संस्थाहरु लगायतका अन्य क्षेत्रहरु पनि खुल्दा जोखिम बढेको छ । नुवाकोटमा सम्बन्धित निकाय र जिल्ला प्रशासनको लापरबाहीले निषेधाज्ञा फितलो बनेको देखिन्छ ।
नुवाकोटका केही स्थानीय तहका बैंकहरु आलोपालो गरि ग्राहकको सहजताको लागि खुलेपनि बट्टार र विदुर क्षेत्रका बैंकहरु हप्तैभरि खुल्दा नुवाकोटमा कोभिड १९ संक्रमणको जोखिम थप बढेको हो ।