नेपाल भारत सिमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवादमा गोली चल्दा १ जनाको मृत्यु

काठमाडौं, ५ जेठ । पश्चिम नवलरासीको प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको छ ।

नेपाल भारत सिमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका-६ का २२ वर्षीय अभिनास राजभरको मृत्यु भएको हो ।

तिघ्रामा गोली लागेका राजभरको उपचारका लागि बुटवल सिटी अस्पताल लगिएको थियो । अस्पलाल उपचारकोक्रममा मृत्यु भएको पश्चिम नवलपरासीका डीएसपी राजु लामाले बताउनुभयो ।

नेपाल भारत सीमानाका बन्द रहेको अवस्थामा भारतजान खोजेका राजभरलाई सशस्त्र प्रहरीले नाकामा रोकेको र सोही विषयमा विवाद हुँदा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल भारत सिमानामा नजिकै स्थानीय युवा र सुरक्षाकर्मीबीच विवाद हुँदा गोली चलेको बताउनुभयो ।

घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको थियो ।

स्थानीयले भने सुरक्षाकर्मीले बिनाकारण बल प्रयोग गरेर गोली चलाएको आरोप लगाएका छन् । सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।