राष्ट्रपतिमाथि महाअभियोग लगाऊ, नयाँ सरकार बनाऊ: विवेकशील साझा
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार भएको भन्दै विवेकशील साझा पार्टीले दावी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गरेको विवेकशील साझा पार्टीले आरोप लगाएको छ ।
विद्यादेवी भण्डारीलाई तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसदमा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्ने भएपनि त्यस विपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको उल्लङ्घन भएको विवेकशील साझा पार्टीका एक नेताले बताए ।
साथै प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु असंवैधानिक कदम भएको विवेकशील साझा पार्टीले जनाएको छ ।