सर्वदलीय वैठकको निष्कर्ष: ओली सरकार एकदिन पनि देशका लागि दुर्भाग्य

काठमाडौं, २८ जेठ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सबेको संसदका दलका शीर्ष नेताहरुको वैठक सम्पन्न भएको छ ।

संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सहभागी सबै दलका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले वहुमतको सरकार बन्ने अवस्था हुँदा हुँदै पनि पुनः संसद विघटन गर्नु प्रतिगमन भएको साझा निष्कर्ष निकालेका छन् ।

गैरसंवैधानिक रुपमा संसद विघटन गरेर काम चलाउ बनेको सरकारले निरन्तर मन्त्रिपरिषद विस्तार गरेर अर्को नौटंकी प्रदर्शन गरेको शीर्ष नेताहरुले धारणा राखेका छन् । बैठकपछि पत्रकारहरुसँग बोल्दै राप्रपा नेता दीपक बोहोराले बैठकमा वर्तमान राजनीतिक स्थितिका बारेमा छलफल केन्द्रीत भएको जानकारी दिनुभयो ।

संसद विघटन गरेर अध्यादेशमार्फत देश चलाउने खोज्ने ओली प्रवृत्ति एक दिन देशका लागि घातक हुने नेताहरुको ठहर रहेको उहाँले बताउनुभयो । सरकारले अध्यादेशमार्फत बजेट ल्याएर देशको चुरे क्षेत्र र अज्य प्राकृतिक क्षेत्रहरुको दोहन गरेर देशलाई थप जर्जर बनाउदै लगेकोमा सबै दलका नेता एकमत रहेको नेता बोहोराले बताउनुभयो ।यस्तै बैठकमा सहभागी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले संसद,लोकतन्त्र,संविधानमाथि प्रहार गरेर संविधानलाई क्षतविक्षत गर्ने काम गरेकोमा संविधानको रक्षाका लागि उभिनुपर्ने राष्ट्रपति विद्या भण्डारी आफैं संविधानलाई ध्वंश गर्ने कार्यमा सरिक हुनुभएको वैठकको निष्कर्ष रहेको बताउनुभयो ।

त्यसैले लोकतन्त्र र संविधानको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकजुट भएर जाने निर्णय आजको बैठकले निकालिएको यादवले जानकारी दिनुभयो । जसपाका अर्का नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि नभई विद्यमान संविधानलाई विध्वांस पार्न प्रतिनिधिसभा विघटन गरेर अध्यादेशको बलमा मुलुक चलाइरहेको आरोप लगाउनुभयो ।सर्वदलीय बैठक लगत्तै उनीसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुखसहितका शीर्ष नेताहरूको छलफल सुरु भएको हो ।