कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं,१ असार । कर्णाली प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी राखेको प्रस्तावमा बैठकले बहुमतले पारित गरेको हो ।

सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारित सम्वन्धमा सभामा निणायार्थ प्रस्तुत गरेको कार्यक्रम बहुमतले पारित गरेको बताउनुभयो । गत शनिवार प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिदैं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि सत्ता पक्ष र प्रतिपक्ष एक हुन आव्हान गर्नुभयो । उहाँले आगामी दिनमा देखिएका समस्याहरुलाई सर्वदलीय बैठक बसेर समाधान खोजिने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशले गरेका काममा प्रतिपक्षले पनि रचनात्मक सहयोग गर्न सुझाव दिनुभयो ।

मुख्यमन्त्री शाहीले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रीय कार्यक्रमहरु नीति तथा कार्यक्रममा ल्याइएको, कर्णालीमा लगानी भित्र्याउने नीति ल्याएको, नमूना सहरको अध्ययन्, एकीकृत सडक संजाल, एकीकृत बस्ती विकासलगायतका प्रदेशको दीर्घकालीन विकासका कार्यक्रमहरु ल्याएको दावी गर्नुभयो । साथै उहाँले विगत वर्षका कार्यक्रमहरुलाई नै निरन्तरता दिइएको उल्लेख गर्नुभयो ।

नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले एमालेले उठाएका विषयलाई सत्तापक्षले गम्भीररुपमा लिन आग्रह गर्नुभयो । उहाँले समय नभएको हुँदा विरोध यथावत राख्दै प्रदेश सरकारका कामलाई सहज गराइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।