खुलाउँदै राजमार्ग

काठमाडौं, ३ असार । सरकारले बाढी पहिरोबाट अवरुद्ध हुनसक्ने सडक र राजमार्ग सकेसम्म चाँडो खुलाई सेवा सञ्चालन गर्ने कार्ययोजनाका साथ काम थालिएको छ । आधा घण्टाभित्र पुनः सेवा सञ्चालन हुने गरी काम थालिएको हो । सोही कार्ययोजना अनुसार अहिले सडक विभागले पहिरोले अवरुद्ध भएका राजमार्ग र सडकलाई खुलाई सञ्चालनमा ल्याउने छ ।

सडक विभागले राजमार्ग र सडकको अवरोध हटाउन लोडर, एक्साभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेनट्रक, ट्रकलगायतका २०५ वटा हेभी इक्विप्मेन्ट तयारी अवस्थामा राखेको जनाएको छ । सम्भावित पहिरो जान सक्ने राजमार्ग र सडकका ८७ ठाउँमा त्यति नै सङ्ख्यामा हेभी इक्विप्मेन्ट तैनाथ गरिएको छ ।

सडक विभागका उपमहानिर्देशक तथा सम्भार महाशाखाका प्रमुख भीमार्जुन अधिकारीले राजमार्ग र सडकलाई अवरोधरहित बनाउन २०५ वटा हेभी इक्विप्मेन्ट तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । सडक विभागले अघिल्लो वर्ष मुलुकभरि १९८ वटा हेभी इक्विप्मेन्ट परिचालन गरिने छ ।

“२०५ मध्ये पहिरो जानसक्ने सम्भावित ८७ ठाउँमा त्यति नै सङ्ख्यामा हेभी इक्विप्मेन्ट तयारी अवस्थामा राखिएको छ”, उहाँले भन्नुभयो, “यसका अतिरिक्त इटहरी, जनकपुर, हेटौँडा, काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्ज र गोदावरीको हेभी इक्विप्मेन्ट डिभिजनहरूमा तयारी अवस्थामा राखिएका छन् ।” तयारी अवस्थामा राखिएका इक्विप्मेन्टहरू अपुग भएमा सम्बन्धित डिभिजनबाट पठाउने गरी तयारी गरिएको उहाँले बताउनुभयो । विगतभन्दा बढी वर्षा हुने अनुमान गरिएकाले यो वर्ष विशेष तयारी गरिएको उहाँले बताउनुभयो ।

अधिकारीले भन्नुभयो, “विगतमा पहिरो गइसकेपछि सम्बन्धित डिभिजन कार्यालयमा खबर आएपछि त्यहाँबाट हेभी इक्विप्मेन्ट पठाइन्थ्यो तर यो वर्ष विगतमा पहिरो गएको ठाउँ र सम्भावित नयाँ ठाउँमा इक्विप्मेन्ट र जनशक्ति तयारी अवस्थामा राखिएका छन् ।” विभागका अनुसार अरनिको राजमार्ग, मुग्लिङ–नारायणगढ सडकखण्ड, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, त्रिशूली–बेत्रावती–रसुवागढी, डुम्रे–बेँसीसहर–चामे, कान्ति लोकपथ, महाकाली, मेची राजमार्गमा बढी पहिरो जाने सम्भावना रहेका छन् ।
गत साता सम्पन्न मन्त्रालयको समीक्षा गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यो वर्ष मनसुन छिटो सुरु हुने भएकाले त्यसबाट राजमार्गमा आउन सक्ने अवरोधको व्यवस्थापनका लागि पूर्वतयारी गर्न सडक विभागलाई निर्देशन दिनुभएको थियो ।

डाइभर्सन र बेलिब्रिज
तराईमा पहिरोभन्दा बाढीको समस्या बढी हुने भएकाले सो क्षेत्रका लागि डाइभर्सन र बेलिब्रिजको आवश्यक तयारी गरिएको उपमहानिर्देशक अधिकारीले जानकारी दिनुभयोे । बाढीले प्रभावित राजमार्ग र सडक खण्डहरूमा डाइभर्सन निर्माण र भत्किएका पुलमा तत्काल बेलिब्रिज राखी सडक सुचारु गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो।

स्थायी समाधानको अध्ययन
सडक विभागले सधैँ पहिरो गइरहेको ठाउँलाई पहिचान गरी सो ठाउँमा पहिरोको स्थायी समाधानका लागि अध्ययन भइरहेको जनाएको छ । विभागले ‘जियो इन्भायरमेन्टल एन्ड सोसल युनिट’ (जेसु) र ‘रिसर्च एन्ड डेभलपमेन्ट’ (आर एन्ड डी) शाखा खडा गरी मुलुकभरिका राजमार्ग तथा सडकमा पहिरो जाने ठाउँको पहिचान र अध्ययन गरी स्थायी समाधान कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको उपमहानिर्देशक अधिकारीले जानकारी दिनुभयो । अबको पाँच वर्षभित्र मुलुकको राजमार्ग र सडकमा सम्भावित पहिरो जाने ठाउँको स्थायी समाधान हुने गरी काम भइरहेको उहाँले बताउनुभयो।

३ असार २०७८, बिहीबार