हो, हामी जित्छौं र काँग्रेसलाई जिताउँछौं :भण्डारी

हो, हामी जित्छौं र काँग्रेसलाई जिताउँछौं : भण्डारी
काठमाडौँ– १४ औँ महाधिवेशन अन्तर्गत पालिका अधिवेशन सुरु हुनै लाग्दा नेपाली काँग्रेसमा केन्द्रदेखि गाउँसम्म चुनावी माहोल तात्तिएको छ । यस पटकको अधिवेशनमा युवा व्यक्तिहरुको राजनीतिक आकर्षणले काँग्रेसलाई थप जोसिलो बनाएको छ । वडादेखि क्षेत्रीय प्रतिनिधि चयन हुँदासम्म युवा लहर काँग्रेसमा उदाहरणीय छ भने पालिका अधिवेशनमा पनि युवाहरु नेतृत्व हत्याउन पुरानो पुस्तासंग कसरत गरिरहेका छन् । यसैको एक उदाहरण हुन् लक्ष्मीराज भण्डारी ।
झण्डै डेढ दशकदेखि सञ्चारकर्मीको रुपमा काम गर्दै आएका भण्डारीले नेपाली काँग्रेसमा केन्द्र देखि गाउँसम्म पुस्ता हस्तान्तरण जरुरी देखेका छन् । भण्डारीले काठमाडौँको तारकेश्वर नगरपालिकामा नगर उपसभापतिका लागि उमेदवारी घोषणा गरेका छन् । र अहिले उनी आफ्नो पक्षमा राजनीतिक माहोल बनाउन व्यस्त छन् ।
सञ्चार पेषाबाट राजनीतिमा होमिएका भण्डारीले अहिले पनि नेपाली काँग्रेस जनताको प्रिय पार्टी रहेकोमा दृढ छन् । स्वार्थ र गुटगत राजनीतिले थलिएपछि जन आकर्षण जोगाउन धौधौ परेको बताउने भण्डारी पार्टीको सांगठनिक सुधारका लागि अब युवा पुस्ता नै अघि सर्न जरुरी रहेको निष्कर्षमा पुगेका छन् ।
पढाइमा पत्रकारितामा स्नातकोत्तर गरेका भण्डारीले तारकेश्वरमा काँग्रेसको नेतृत्वमा पढेलेखेका र बुद्धिजिविहरुको अभाव रहेको बताउँछन् । उनी भन्छन्, ‘प्रजातन्त्र र लोकतन्त्रको पहरेदार गौरवशाली इतिहास बोकेको काँग्रेस विस्तारै धनवाल र बलवानहरुको कब्जामा परेको छ, पार्टीमा पढेलेखेका र बौद्धिक व्यक्तिहरु आवश्यकता देखियो । किनकी धनवाल र बलवानले पार्टी संगठनलाई छियाछिया बनायो ।’
‘केही दशकदेखि पार्टी नेतृत्वमा सौखिन र आफ्नो राजनीतिक सुरक्षाका लागि स्वार्थ सिद्ध गर्नेहरुको राज चल्यो । इमान्दार कार्यकर्ता र शुभचिन्तकहरुलाई धन र बलको प्रभावमा पारियो’ उपसभापतिका उमेदवार भण्डारीले भने, ‘अब त्यो गरिन हुन्न र इमान्दार सांगठनिक योजना निर्माणका कुशल व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पीनु पर्याे भन्ने मेरो एजेण्डा हो र यही एजेण्डा लिएर मैले नेतृत्वको दावी गरेको हुँ ।’
नेपाली काँग्रेसमा इमान्दार र संगठनको मोह बोकेका व्यक्तिलाई इतिहासदेखि नै पाखा लगाउने गलत नजिर स्थापित रहेको भण्डारीको टिप्पणी छ । बीर गणेशमान सिंहले जीवनको उत्तराद्र्धमा काँग्रेस छाड्नु परेको कारण स्मरण गर्दै भण्डारीले आज पनि धनवाल र बलवान हावी हुँदा काँग्रेसमा नयाँ गणेशमानहरुको जन्म हुन नसकेको बताए । उनले भने,‘ आज गणेशमानलाई आदर्श मान्ने हरु नै काँग्रेसको विचारबाट विचलित भएका छन् ।’
गणेशमान सिंह कहिल्यै कांग्रेसको सभापति भएनन् तर कांग्रेसमा उनको भूमिका र स्थान कुनै पनि सभापतिको भन्दा विशिष्ट र उच्च मान्निछ । पार्टीमा गणेशमान सिंहको कुनै गुट थिएन, सायद त्यसैले होला सभापति भएनन् । बिनापद, बिनागुट पनि पार्टीमा शीर्ष स्थान पाउन र सर्वमान्य नेता बन्न सकिन्छ भन्ने उदाहरण गणेशमान सिंहले दिएका थिए ।
चौधौं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा नेतृत्व र पदाधिकारीका प्रत्याशीहरूको होडबाजी तीव्र हुँदै छ । आफ्नो पक्षको विजय सुनिश्चित गर्न कांग्रेसभित्रको प्रत्येक गुट–उपगुटको मुख्य ध्यान सदस्यता वितरणमा हुने गर्छ । यसको गठजोडमै कसले नेतृत्व हात पार्ने भन्ने निर्भर गर्छ । नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा छैन । त्यसैले इमान्दार र सक्कली काँग्रेसी अगुवाहरु धनवाल र बलवानहरुको अगाडी निर्भिक उभिन जरुरी रहेको नेपाली काँग्रेस विज्ञ डा. विष्णु दाहाल बताउँछन् । उनले भने, ‘काँग्रेसको चौधौं महाधिवेशन असली काँग्रेस र नक्कली काँग्रेस छुट्याउने अवसरको रुपमा स्थापित हुनु पर्छ ।’
तारकेश्वरभित्र काग्रेसलाई बलियो र सुदृढीकरण गर्ने योजनाका साथ अवको स्थानिय चुनावमा कांग्रेसलाई स्थापित गर्नु प्रमुख उद्देश्य राखेका भण्डारीले कुनै अमूख गुट वा पक्षको नभई कांग्रेसको तर्फबाट नगर उपसभापतिमा दावी गरेको बताउछन । नौ भन्दा बढि इकाई सभापतिले आफूलाई सहयोग गर्ने भएकाले आफ्नो जति सुनिश्चीत भएको उनी बताउँछन् ।
नेपाल तरुण दल काठमाडौ क्षेत्र नं ६ को क्षेत्रीय सचिवमा मा निर्विरोध निर्वाचित भएका भण्डारी विगत १५ बर्षदेखी नेपाली कांग्रेसमा सक्रीय रुपमा क्रियाशिल छन् । गत स्थानिय, प्रदेश र संघीय निर्वाचनमा समेत काँग्रेस जिताउ अभियानमा प्रभावकारी भूमीका खेलेका भण्डारी युवा पुस्तामाझ विश्वास जितेका युवा नेता हुन् । वडा नं २ को इकाई अधिवेशनबाट निर्विरोध रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएका भण्डारी प्रेस युनियन काठमाडौ शाखामा पनि सक्रिय छन । भण्डारी तारकेश्वर पत्रकार मञ्चका सल्लाहकार समेत हुन् ।