आगामी निर्वाचन जिताउने अभिभारा पूरा गर्न सभापतिमा लड्दैछु, खड्गी

काठमाडौं । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील काठमाडौं क्षेत्र नम्बर ६ का सभापति श्यामकृष्ण खड्गीले सोही पदमा पुन प्रतिस्पर्धा गर्ने भएका छन् । 
कम्युनिष्ट लहर चलेको बेला अर्थात गएको प्रतिनिधिसभा निर्वाचनमा समेत आफ्नो क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजय गराउन सफल खड्गीले पुनः क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् । महाधिवेशनको तालिकाअनुसार आउँदो सोमबार क्षेत्रीय समितिका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् ।
काठमाडौं कांग्रेसमा प्रभाव राख्ने भिमसेनदास प्रधान समूहका मानिने खड्गीले क्षेत्र नम्बर ६ अन्तर्गतका टोखा र तारकेश्वर नगर समितिको अधिवेशनमा आफ्नो समूहलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । ती दुई नगर समितिको समर्थनका कारण क्षेत्रीय अधिवेशनमा खड्गीको पल्ला भारी हुने आँकलन गरिएको छ ।
धेरै इकाई सभापतिहरुले रुचाएका खड्गी कांग्रेसमा सरल स्वभावका नेताका रुपमा परिचित छन् । अध्यापन पृष्ठभूमिका खड्गी बौद्धिक क्षेत्रसँग पनि निकट छन् । कांग्रेसको वडा तहदेखि जिल्ला तहसम्म काम गरेको अनुभव भएका खड्गीको भूमिका आम निर्वाचनमा आफैं उठ्ने भन्दा पनि कांग्रेसका उम्मेदवार जिताउनमा देखिएको थियो ।
यसपटकको उम्मेदवारीको सम्बन्धमा खड्गी भन्छन्, ‘तीन तहको निर्वाचन नजिकिदै छ । ती निर्वाचनमा कांग्रेस जिताउने अभिभारा पूरा गर्न एक पटक फेरि यहि पदमा लड्दैछु ।’
खड्गीले कांग्रेस नेतृत्व चयन गर्ने बेला कार्यकर्ताहरुले ‘रुख बनाउने मुख हेर्नुपर्ने’ विचार राख्ने गरेका छन् ।पार्टीको अधिवेशनमा कार्यकर्ताले सहि नेतृत्व नछाने अधिवेशन निरर्थक चुनावी अभ्यास मात्रै हुने बीपी कोइरालाको विचार खड्गीले प्रचार समेत गर्दै आएका छन् ।
क्षेत्रीय समितिमा सभापतिसहित दुई उपसभापति, दुई सचिव र दुई उपसचिव पदका लागि प्रतिस्पर्धा हुनेछ । २५ जना महाधिवेशन प्रतिनिधि यस क्षेत्रबाट निर्वाचित हुनेछन् । भिमसेन दास प्रधान, सबुज बानियाँ, जीवन डंगोल, हरिप्रभा खड्गी, हरिहर अधिकारी, सानुभाई सापकोटालगायत कांग्रेसका चर्चित नेताहरु यहि क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्दैछन् ।
क्षेत्र नम्बर छबाट प्रकाशमान सिंह समूहबाट कृष्णमान श्रेष्ठले श्यामकृष्ण खड्गीसँग प्रतिस्पर्धा गर्ने लगभग निश्चित छ ।
नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुनेछ । कांग्रेस महाधिवेशन अन्तर्गत देशभर इकाई अधिवेशन सम्पन्न भइसकेको छ ।