तारकेश्वरमा विवेकशील साझा बाट मेयरका उम्मेदवार महेशजंग कुवँरको यस्तो छ प्रतिबद्वता

काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा तारकेश्वर नगरपालिका मेयरका लागि विवेकशील साझा पाटि बाट उम्मेदवार महेशजंग कुवँरले मनोनयन दर्ता गरेका छन । उनलेे नगरवासिहरु सामु यस्तो प्रतिबद्वता ब्यक्त गरेका छन।

 

तारकेश्वर नगरपालिकाकाे दाजुभाइ तथा दिदीबहिनीमा
मेरो प्रतिज्ञापत्र २०७९

घोषणापत्रका मुख्य शीर्षकहरु
१. भौतिक योजना तथा पूर्वाधार निर्माण
क. तारकेश्वर नगरपालिकाभित्रका सबै सडकखण्डलाई आगामी ५ वर्षभित्र कालोपत्रे गराइनेछ ।
ख. तारकेश्वर नगरपालिकाभित्रका सबै मूल सडकखण्डमा ढल निकासको व्यवस्था गरिनेछ ।
ग. नगरबासीहरुलाई प्रतिपरिवार ५० युनिटसम्म बिजुली नगरको सहुलियतमार्फत निःशुल्क दिइनेछ ।
घ. तारकेश्वर नगरपालिकाभित्र रहेका कच्ची पुलहरुलाई स्तरोन्नति गरि मोटरेवल पुल निर्माण गरिनेछ ।
ङ. नगरपालिका भित्रका सबै वडामा कम्तिमा एक–एकवटा सार्वजनिक पार्क बनाइनेछ ।
च. नगरपालिका भित्रका सबै मन्दिर र गुम्बाहरुलाई आवश्यक्ता अनुसार जिर्णोद्वार र आवश्यक्ता अनुसार नवनिर्माण गरिनेछ ।
छ. नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुको भवनलाई स्तरोन्नति र आवश्यक्ता अनुसार नवनिर्माण गरिनेछन् ।
ज. नगरपालिकाभित्र आवश्यक्ता अनुसार अनाथालय, वृद्धाश्रम र खेलकुदस्थलहरु निर्माण गरिनेछ ।
२. शिक्षा र सीप विकास
क. नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको बन्दोबस्त गरिनेछ ।
ख. नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विशेष संयन्त्रको निर्माण र परिचालन गरिनेछ ।
ग. हरेक सामुदायिक विद्यालयमा पाठ्यक्रम बाहेक अतिरिक्त र सीपमूलक तालिमको व्यवस्था गरिनेछ ।
घ. हरेक सामुदायिक विद्यालयमा प्रदेश सरकारसँगको समन्वयमा एक–एकजना विद्यालय नर्सको अनिवार्य व्यवस्था गरिनेछ ।
ङ . सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न दिवा खाजा तथा कम्यूटर प्रविधिमार्फत पढाउने व्यवस्था गरिनेछ ।
च. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन हरेक वर्ष उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थी घोषणा गरि पुरस्कृत गरिनेछ ।
छ. विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न पुराना शिक्षकहरुलाई ससम्मान निवृत्ति दिएर युवा र प्रतिस्पर्धी शिक्षकहरुलाई नियुक्त गरिनेछ ।
ज. नगरपालिकाभित्रका विपन्न, उत्कृष्ट र जेहेन्दार विद्यार्थीहरुलाई नगरपालिकाको लगानीमा उच्च शिक्षाको व्यवस्था गर्ने बन्दोबस्त मिलाइनेछ ।

३. स्वास्थ्य सेवा र सामाजिक सुरक्षा
क. नगरपालिकाभित्रको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा चिकित्सकको व्यवस्था गरिनेछ भने आवश्यक उपकरण र प्रविधिको बन्दोबस्त गरिनेछ ।
ख. नगरपालिकाभित्रका सबै नागरिकलाई नगरपालिकामा उपलब्ध सबै स्वास्थ्य सेवा निःशुल्क रुपमा व्यवस्था गरिनेछ ।
ग. मातृशिशु सुरक्षालाई उच्च प्राथमिकतामा राखि नगरभित्रका गर्भवती महिला, सुत्केरी र शिशुहरुलाई पोषण भत्ता र सुरक्षा प्याकेजको व्यवस्था गरिनेछ ।
घ. नगरभित्रका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि वितरणको व्यवस्था गरिनेछ भने घरघरमा गएर खोप कार्यक्रम चलाइनेछ ।
ङ.नगरपालिका भित्रका सबै स्वास्थ्य स्वयंसेविकाहरुलाई विशेषभत्ताको व्यवस्था गरि ज्येष्ठ नागरिक घरक्लिनिकको व्यवस्था गरि घरघरमा गएर स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ ।
च. हरेकवर्षको कम्तिमा दुईपटक सबै नगरबासीको मिर्गौला, मुटु, क्यान्सर लगायत दीर्घरोगको परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
छ. हरेक वडामा स्वास्थ्यचौकीको विस्तार गरिनेछ । भएका स्वास्थ्य चौकीको भौतिक संरचना निर्माण गर्नुका साथै स्तरोन्नति र सबै स्वास्थ्य चौकीमा दरवन्दी र नविनतम प्रविधिहरु जडान गरिनेछ ।
ज. स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा सबै नगरबासीलाई अनिवार्य बीमा कार्यक्रममा जोड्ने र विपन्नहरुको प्रिमियम नगरपालिकाले तिरिदिने व्यवस्था गर्ने ।

४. कृषि, पर्यटन, संस्कृति तथा युवा स्वरोजगार
क. तारकेश्वर नगरपालिकाभित्रका कृषियोग्य जमिनलाई सुरक्षित राखि कृषिअयोग्य जमिनमा आवास निर्माण गर्न प्रोत्साहन गरिनेछ ।
ख. नगरपालिकाको कृषिशाखामार्फत व्यवसायिक कृषि र सहकारी कृषि प्रणालीमा प्रोत्साहन गरिनेछ । व्यवसायिक कृषि उद्यम गर्ने युवालाई विशेष सहुलियत र अनुदान उपलब्ध गराइनेछ ।
ग. कृषिलाई यान्त्रिकीकरण गर्न प्रदेश र संघ सरकारसँग समन्वय गरि कृषकलाई कृषि औजार र उपकरणहरु अनुदानमा वितरण गरिनेछ ।
घ. नगरपालिकाको समन्वयमा नगरभित्रका सबै कृषिउपजहरुको बजार सुनिश्चित गर्न विशेष संयन्त्रको व्यवस्था गरिनेछ । कृषक र बजारबीच रहेका विचौलियाहरुलाई निरुत्साहित गरिनेछ ।
ङ. तारकेश्वर भित्र रहेको तारकेश्वर धाम, शान्तिधाम, पाँचमाने गुम्बा, राष्ट्रिय झण्डापार्कहरुको स्तरोन्नति गरि पर्यटक आकर्षित गर्न विशेष पर्यटन प्रवद्र्धन योजना ल्याइनेछ ।
च. नगरभित्र रहेका मनमैजु, धर्मस्थली र साङ्लाका नेवाः संस्कृति, परम्परा र जात्राहरुलाई प्रवद्र्धन र संरक्षण गर्न विशेष संस्कृति संरक्षण कोषको व्यवस्था गरिनेछ ।
छ. स्वदेशमै बसेर उद्यम गर्न चाहने युवाहरुलाई कार्ययोजनाका आधारमा सहुलियत ऋण उपलब्ध गराइनेछ भने १० जनाभन्दा बढिलाई रोजगार प्रदान गर्ने उद्यमीलाई उद्यमको प्रकार हेरी विशेष अनुदान उपलब्ध गराइनेछ । विदेशबाट फर्किएका युवालाई सीपविकास तालिम र स्थानीय तहमै रोजगारीको व्यवस्था गरिनेछ ।

५. भ्रष्टाचार नियन्त्रण तथा सुशासन
क. नगरपालिकाभित्र विकृतिका रुपमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्न सबै वडामा नागरिक संयन्त्रको निर्माण गरिनेछ । भ्रष्टाचार गर्ने जनप्रतिनिधि र कर्मचारीलाई सार्वजनिक बहिष्कारको कदम चालिनेछ ।
ख. नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गाको अभिलेख र सूचिकरण गरि सार्वजनिक जग्गा मिच्नेलाई कानुनी दायरामा ल्याउनका साथै उक्त जग्गाहरुलाई नगरपालिका मातहतमा ल्याइनेछ ।

अन्तमा, नगरपालिकाभित्रका विभिन्न पदमा निर्वाचन लडेका र पराजित भएका उम्मेदवारहरुका असल एजेण्डाहरुलाई आत्मसाथ गरि उनीहरुलाई पनि साथमा लिई कार्य गर्ने गरि संयन्त्र बनाएर अघि बढ्ने संकल्प गर्दछु ।

महेशजंग कुवँर
नगर प्रमुखका उम्मेदवार

१३ बैशाख २०७९, मंगलवार