शिवपुरीको समुन्द्रा मावि केन्द्रमा अधिकृतको दादागिरी,पत्रकारलाई सूचना संकलन गर्न दिएनन
स्थानीय तह निर्वाचन अन्तर्गत शिवपुरी गाउँपालिकाको वडा नं. ६ समुन्द्रा मावि मतदान केन्द्रमा मतदान अधिकृतहरुले दादागिरी देखाएका छन् ।
तीन वटा बुथ रहेको समुन्द्रा माविमा विशेष गरी क बुथका मतदान अधिकृत भानुभक्त रेग्मीले पत्रकारलाई प्रवेश गर्ने अनुमति नभएको भन्दै दादागिरी देखाएका हुन् । रेग्मीले नुवाकोट जिल्लाका मुख्य निर्वाचन अधिकृत उमेश लुईटेल तथा शिवपुरी गाउँपालिकाका निर्वाचन अधिकृत खरुदेव चुँडालको आग्रह समेत अटेर गरे ।
निर्वाचन आयोगले निकालेको मतदान केन्द्र प्रवेश गर्दा मतदाताले ध्यान दिनुपर्ने कुराहरुलाई ब्याख्या गर्दै उनले सञ्चारकर्मी प्रवेश गर्न नपाउने बताए । जिल्लाका मुख्य निर्वाचन अधिकृत, शिवपुरी गाउँपालिकाका निर्वाचन अधिकृत, नेपाल पत्रकार महासंघ नुवाकोट, पत्रकार महासंघका केन्द्रीय सदस्यको आग्रह समेत अटेर गर्दै उनले दादागिरी प्रस्तुत गरेका हुन् । मोबाइल स्वीच अफ गर्ने, निर्वाचन अधिकृतले सहजताका लागि तयार गरेको ग्रुप म्यासेज नहेर्ने, फोन नउठाउने लगायतका उनको कार्य दिनभर नै जारी रह्यो ।
रेग्मीले शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, वडा नं. ६ का सबैभन्दा बढि उमेर भएका व्यक्ति, शारिरीक रुपमा अशक्तले मतदान गरेको फोटो समेत खिच्न दिएनन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष उम्मेदवार, वडाका वडा अध्यक्ष उम्मेदवारको फोटो पनि उनले खिच्न दिएनन् । उनको दादागिरीलाई अन्य बुथका मतदान अधिकृतले पनि साथ दिए । क्यामरा लैजान नपाइने भने पनि पहुँचवालाले भने मतदान गरेको फोटो नै खिच्दा पनि उनी हेरिरहे । दलका प्रतिनिधिहरुले पनि मोबाइल साथमा नै राखेका थिए ।
रेग्मीको दादागिरीले पत्रकार मात्र नभएर मतदान केन्द्रमा खटिएका कर्मचारी पनि आजित थिए । घाइते भएर पनि पैसाको लोभमा मतदान अधिकृतका रुपमा खटिएका रेग्मीले पहिलो दिन र दोस्रो दिन व्यवस्थापनमा चासो नदेखाएको एक कर्मचारीले बताए । स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधिको सहयोगमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भए पनि रेग्मीको कार्यशैली र कमजोर व्यवस्थापनका कारण दिउँसो लाइनमा बसेका मतदाताले दुःख पाएका थिए ।
उनको कमजोर व्यवस्थापन र लापरवाहिकै कारण केहि मतदाताको मत अर्कै व्यक्तिले दिन समेत भ्याए । वास्तविक मतदाताले आफ्नो नाममा कसले भोट हाल्यो भनेर कराउँदा उनलाई सुरक्षाकर्मी लगाएर बाहिर पठाइएको थियो ।
उम्मेदवारहरु भित्र प्रवेश गरी लाइनमा बसेका मतदातासँग मत मागिरहँदा पनि उनी मुकदर्शक बने । तर पत्रकार प्रति लचक भएनन् । राजनीतिक दलका प्रतिनिधिहरु मनलाग्दी प्रवेश गर्न अनुमति दिएका रेग्मीले पत्रकारलाई भने साँझसम्म पनि प्रवेश गर्न दिएनन् । यति मात्र नभई मत खसेको संख्या रिपोर्टिंग गर्न र मतदान सकिएपछि संख्याको विवरण समेत दिएनन् । उल्टै आफू उत्कृष्ट मतदान अधिकृत भएको भन्दै सम्मान गर्न आग्रह गरे ।
रेग्मीले समुन्द्रा मावि मतदान केन्द्रमा दादागिरी देखाए पनि नुवाकोटका अन्य मतदान केन्द्रमा भने पत्रकारलाई प्रवेश दिइएको थियो । उनीहरुले निर्वाध रुपमा फोटो खिचेका थिए । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनीहरुले तस्वीर समेत अपलोड गरेका छन् ।
रेग्मीको यो दादागिरीले समग्र पत्रकारीता जगतकै अवमुल्यन र पत्रकारको अधिकार हनन भएको ठहर भएको छ ।