१५ औं गणतन्त्र दिवसको अवसरमा अध्यक्ष नेपालको शुभकामना

काठमाडौ । नेकपा एकीकृत समाजवादी पाटिका अध्यक्ष माधवकुमार नेपालले १५ औं गणतन्त्र दिवस, २०७९ को अवसरमा शुभकामना दिनु भएको छ।
१५ औं गणतन्त्र दिवस, २०७९ को अवसरमा सम्पूर्ण दिदी बहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक जनक्रान्ति सहित न्यायपूर्ण आन्दोलनहरुमा शहादत प्राप्त गर्नुहुने शहिदहरुप्रति भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्दै उहाँहरुका योगदानको उच्च सम्मान व्यक्त गर्दछु ।
जनताको बलिदानपूर्ण संघर्षको फलस्वरुप लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी शासन व्यवस्थासहितको संविधान निर्माणमा सफलता प्राप्त भएको हो । सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएपनि अझै हाम्रो जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन सकिरहेको छैन । राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन ।
अर्कोतर्फ यही व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृति, निरंकुश तरिका र अहंकारी व्यवहार तथा भ्रष्ट आचरण देखिनु दु:खद पक्ष हो । गतबर्ष सार्वभौम जनताको प्रतिनिधित्व हुने प्रतिनिधिसभालाई पटक-पटक विघटन गरी मुलुकलाई पुन: राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएका थिए । जनभावनाको कदर गर्दै संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता हो । असंलग्न परराष्ट्र नीति प्रति निष्ठावान रहँदै राष्ट्रको सार्वभौम सत्ता र स्वाभिमानको रक्षार्थ दृढताका साध उभिनु हामी प्रत्येक नेपालीको कर्तव्य र जिम्मेवारी हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आव्हान गर्दै गणतन्त्र दिवस, २०७९ को अवसरमा पुन: बधाई तथा शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।