नुवाकोटमा युवा स्वयंसेवक गठन तथा विपद व्यवस्थापन प्रशिक्षण सम्पन्न

काठमाडौ । प्रदेश युवा परिषद् जिल्ला युवा समिति नुवाकोटको आयोजनामा विदुरमा एकदिने विपद व्यवस्थापन प्रशिक्षण भएको छ ।
मंगलबार आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले विपद प्राय: मानवबाट सिर्जित पूर्वाधारबाट हुने भएकोले भौतिक संरचनाको संरचना दिगो हुने गरी निर्माण गर्नुपर्नेमा जोड दिए । विपद् व्यवस्थापन चक्रको विपद् पूर्वतयारी, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, सामुदायिक उत्थानशिलता, राहत उद्धार प्रतिकार्य लगायतबारे जनचेतनामूलक जानकारी गराएका छन् । संघीय, प्रदेश, जिल्लागत र स्थानीयस्तरमा विपद व्यवस्थापनमा युवाको भूमिका रहने भएकोले टोलस्तरीय युवाको संजालमार्फत् विपद न्यूनिकरणमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख मदन ढुंगानाले जिल्लामा वर्षाको समयमा बाढी व्यवस्थापनको लागि जिल्लामा र्याफ्टिङ डुंगाको अति आवश्यक रहेको बताए । बाढीबाट हुने मानवीय क्षति जोगाउन र्याफ्टिङ डुंगा अतिआवश्यक रहेको हुदाँ सहजताको लागि जिल्ला अधिकारीलाई अनुरोध गरेका छन् । जिल्लाको दुप्चेश्वर, पन्चकन्या र तादीमा विपदबाट हुने दुर्घटनामा तत्काल राहत तथा व्यवस्थापन गर्न असहज रहेको बताए ।
प्रहरी प्रमुख रामप्रकाश शाहले विपदको व्यवस्थापनको लागि स्थानीय स्तरमा सामान्य जानकारी पुर्याउन युवा लग्नुपर्ने बताए । वर्षाको समयमा जिल्लामा ६ जनाको मृत्यु र १८ घर क्षति भएको उनले जानकारी दिए । नुवाकोट प्रहरी विपद व्यवस्थापनको लागि पूर्व तयारीमै रहेको बताए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले जिल्लामा घट्ने विपद वर्षेनी दोहोरिने प्रकृति भएकोले त्यसमा जिल्लास्तरीय कार्यन्वयनमा जोड दिए । विपदको समयमा आफु सुरक्षित रही अरुको सुरक्षा गर्न विपद व्यवस्थापनको लागि जिल्लामा रहेका जुनियर रेडक्रस, स्काउट तथा स्थानीय सामाजिक संघ संस्थाहरुलाई समन्वय गरी जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष उद्धव पनेरुले बागमती प्रदेश सरकारको कार्यक्रम अन्तर्गत युवालाई विपद सम्बन्धी अभिमुखीकरण गर्नुपर्ने कार्य योजना अनुसार प्रशिक्षण कार्यक्रम गरिएको बताए । जिल्लामा भइपरि आउने विपदमा तत्काल उद्धारमा खट्नको लागि जिल्लास्तरीय युवा स्वयंसेवक गठन पनि गरिएको जानकारी दिए । अध्यक्ष पनेरुको संयोजकत्वमा २० सदस्यीय जिल्ला युवा स्वयंसेवक गठन गरेको छ । डवली खबर बाट।
२१ असार २०७९, मंगलवार