तारकेश्वरमा भदौ २५ गते वृहत् गोष्ठी हुने
काठमाडौ । सूचक प्रकाशनले दियो फाउन्डेसनको सहकार्यमा तारकेश्वर नगरपालिकामा तारकेश्वरको समग्र विकास विषयक एकदिने वृहत् विचार गोष्ठी आयोजना गर्ने भएको छ । धार्मिक, पौराणिक र प्राकृतिक विविधताले युक्त तारकेश्वरलाई विकास र समृद्धिको यात्रामा लम्काउने उद्देश्यसहित गोष्ठी आयोजना गर्न लागिएको दियो फाउन्डेसनका सदस्य सचिव एवं सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले बताए । उक्त विचार गोष्ठीमा सम्बन्धित क्षेत्रका जानकारहरूले विभिन्न शीर्षकमा आआफ्नो धारणा राख्ने बताइएको छ ।
तारकेश्वरको समग्रतालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको गोष्ठीमा अर्थविद प्रा.डा. केशव खड्का, साहित्यकार डा. घनश्याम पुडासैनी, हिम रश्मि स्कुलका प्रमुख लोकेन्द्र बहादुर खड्का, साहित्यकार देवेन्द्र अर्याल, कृषि विशेषज्ञ उद्वव प्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन तारकेश्वरका अध्यक्ष तेजनाथ आचार्यलगायतका व्यक्तिहरू प्रमुख वक्ताको रूपमा रहेका छन् । गोष्ठीमा तारकेश्वरको कला, संस्कृति, साहित्य, परम्परा, धर्म, शिक्षा, पर्यटन, कृषि, अर्थ आदि विषयलाई प्रमुख रूपमा उठाइने भएको छ ।
तारकेश्वरको आर्थिक अवस्थाको बारेमा अर्थविद
प्रा.डा. केशव खड्का, इतिहास, संस्कृति र परम्पराका बारेमा साहित्यकार डा. घनश्याम पुडासैनी, संस्थागत शैक्षिक अवस्थाको बारेमा हिम रश्मि स्कुलका प्रमुख लोकेन्द्र बहादुर खड्का, साहित्य, कला र पर्यटनका बारेमा साहित्यकार देवेन्द्र अर्याल, सामुदायिक शैक्षिक संस्थाको बारेमा नेपाल राष्ट्रिय शिक्षक संगठन तारकेश्वरका अध्यक्ष तेजनाथ आचार्य, कृषिका बारेमा उद्वव प्रसाद अधिकारीलगायतका व्यक्तिहरूले प्रकाश पार्नुहुने बताइएको छ । गोष्ठीमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, पुर्व मेयर रामेश्वर बोहरा, कलाकार मदनकृष्ण श्रेष्ठ, साहित्यकार लव गाउँले लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ ।
तारकेश्वरको समग्र विकासका लागि अति नै महत्त्वपूर्ण मानिएको उक्त कार्यक्रममा एसईईमा उत्कृष्ट नम्बर ल्याउने तारकेश्वरका एक प्रतिभालाई जलेश्वरी बालप्रतिभा पुरस्कार अर्पण गरिनेछ । कार्यक्रम भदौ २५ गते शनिबारका दिन रिभर साइड होटलमा बिहान ११ बजे राखिएको आयोजकले बताएको छ ।