ओनिम्सको पाँचौं बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसको सगरमाथा हलमा गणित विज्ञानमा नेपाली महिला (ओनिम्स)को पाँचौं बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
ओनिम्सको आजिवन सदस्य एवं सल्लाहाकार तथा गणित बिषयमा पि.एच.डि. गर्ने नेपालको पहिलो महिला प्रा. डा. शान्ति बज्राचार्यको सत्तरीऔं जन्मदिनको अवसर पारेर आयोजित उक्त सभाको पहिलोसत्रमा “तिर्थानन्द वैद्ध मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। उक्त अवार्ड बद्रि-तिर्थ आर्थ्रराइटिस सोसाइटीका अध्यक्ष तथा ओनिम्सको आजिवन सदस्य एवं सल्लाहाकार बद्रिलक्ष्मी वैद्धले ताम्रपत्र र सोसाइटीका कोषाध्यक्ष विनिता वैद्धले नगद रू. पच्चीस हजार द्वारा सम्मान गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गणितज्ञ तथा नेपाल गणित समाजका पूर्वअध्यक्ष प्रा.डा. शंकरराज पन्त र ओनिम्सकी अध्यक्ष धन कुमारी थापाले दोसल्ला एवं खादा ओढाएर डा. बज्राचार्यको सत्तरीऔं जन्मदिनको शुभकामना व्यक्त गर्नु भयो।
ओनिम्सको जन्मदाता, प्रेरणाको स्रोत एवं संस्थापक सल्लाहाकार स्वर्गिय प्रा. डा. राममान श्रेष्ठलाई सम्झदै शुरू गरिएको उक्त कार्यक्रममा ओनिम्सकी सचिव अन्जना पोखेरेलले गणितिय मोडेलको सहयोगले संक्रामक रोगहरुको भाइरस शरीरभित्रको कोषहरुमा कसरी फैलिन्छ भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो।
कार्यक्रमका अतिथिहरू गणित शिक्षा परिषद्का अध्यक्ष एवं त्रिभुवन विश्वबिध्यालयका पूर्व उपकुलपति प्रा. डा. हिरा बहादुर महर्जन, नेपाल गणित केन्द्रका अध्यक्ष प्रा. डा. सिद्दि प्रसाद कोइराला, नेपाल गणित समाजका सचिव डा. परमेश्वरि कट्टेल, पद्मकन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजु मल्ल र गणित बिज्ञान ट्रष्टकी बिन्द्रा देवी शाक्यले शुभकामना मन्तव्य ब्यक्त गर्दै गणितलाई सहज, सरल र व्यवहारिक जीवनसँग जोडेर अगाडि बढाउन ओनिम्स सदैव क्रियाशील भएर अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नु भयो।
बद्रि-तिर्थ आर्थ्रराइटिस सोसाइटीका अध्यक्ष बद्रिलक्ष्मी वैद्धले गणित विषयमा अध्ययन अध्यापन र अनुसन्धानको क्षेत्रमा नेपाली महिलाहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उदेश्यले स्वर्गिय तिर्थानन्द वैद्धको सम्झनामा सो अवार्डको स्थापना गरेको बताउनु भयो।
प्रमुख अतिथि डा. शंकरराज पन्तले ओनिम्सले गरेको कार्यको प्रशंसा गर्दै अहिलेको समयसापे़क्ष गणितमा महिलाहरुको सहभागिता बढाउदै जानुपर्नेमा जोड दिनुभयो।