सांग्ला प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारीभन्दा बिरामी कम, मेयर निजी अस्पताल चलाउँदै
तारकेश्वर, १२ फागुन । नगर कार्यपालिकाको उदासिनाका कारण तारकेश्वर नगरपालिकाको एकमात्र सांग्ला प्राथमिक स्वास्थ्य केन्द्रको सेवा निश्प्रभावी बन्दै गएको छ भने केन्द्रप्रति सेवाग्राहीको विश्वास घट्दै गएको छ ।
करोडौंको भवन र १६ जना कर्मचारी भएको प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक औषत १० जना बिरामी पुग्नपनि मुश्किल रहेको पाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार माघ महिनाभरिमा केन्द्रमा १ सय ४६ जना महिला र जम्मा ६९ जना पुरुष गरि जम्मा २ सय १५ जनाले सेवा लिएका छन् । बिदाको दिन घटाएर हेर्ने हो भने दैनिक औषति ९ देखि १० जना बिरामीमात्र केन्द्रमा पुग्छन् । यो तथ्यांकमा नियमित गर्भवति परीक्षण, खोप सेवा र परिवार नियोजनको सेवा लिनेपनि जोडिएका छन् ।
नेपालको जानसांख्यिक अनुपातमा शहर बाहिर र दुर्गम क्षेत्रमा लाखौं बिरामी बराबर जम्मा एक चिकित्सकको उपब्धता छ । तर, राजधानी र आसपासका क्षेत्रमा आवश्यक्ताभन्दा धेरै चिकित्सक, कर्मचारी हुँदा पनि स्थानीय सरकारको उदासिनताका कारण सेवाग्राही पाउनै मुश्किल परेको छ ।
सांग्ला प्राथमिक स्वास्थ्य केन्द्रमा पनि त्यस्तै अवस्था भएको छ । केन्द्रमा ५ चिकित्सक (एकजना ११ नं वडामा खटिएको) सहित स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरेर १६ जना रहेका छन् । तर, त्यतिधेरै कर्मचारी हुँदा पनि केन्द्रमा एउटा हेल्थपोष्टको जति बिरामी पनि नआउने हुँदा सो जनशक्ति, उपकरण र भवनका लागि सरकारले गरेको लगानी बालुवामा पानी भएको छ । यो सबै समस्याको जड भनेको स्वास्थ्य सेवामा बढ्दो निजीकरण, सरकारी स्वास्थ्य संस्थाको कम प्रभावकारिता र जनताले प्राइभेट अस्पताल वा क्लिनिक रोज्नु हो ।
झण्डै डेढ करोडको डायलासिस मेशिन अलपत्र, नगरले दिन्छ वार्षिक जम्मा पाँच लाख
नगरपालिका मातहतको प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति १६ जना हुँदापनि हालसम्म वार्ड र इमर्जेन्सी सेवा समेत सुरु हुन सकेको छैन । अस्पतालका मेसु डा. नहकुल पौडेलका अनुसार केन्द्रमा २४ सै घण्टा वर्थिक सेन्टर(सुत्केरी सेवा) सञ्चालन भएपनि अन्य बिरामीका लागि इमर्जेन्सी र वार्ड सुरु गर्न सकिएको छैन । पौडेलका अनुसार केन्द्रमा सेवाहरु उपलब्ध भएपनि भौगोलिक विकटता, अपायक स्थान र जनतालाई सेवाका बारेमा उचित जानकारी नहुँदा सेवाग्राही न्यून भएको बताए ।
नगरप्रमुख कृष्णहरि महर्जन निर्वाचित भएलगत्तै केन्द्रमा पुगेर केन्द्रलाई अस्पतालका रुपमा विकास गरेर २४ सै घण्टा सञ्चालन गर्ने आश्वासन दिएपनि सो पुरा हुन सकेन । मेयर भएपछि महर्जन तीनपटक केन्द्रमा पुगेपनि अस्पतालको सेवामा सुधारको कुनै छनक देखिएको छैन ।
साथै, नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा मिर्गौला डायलासिस सुरु गर्ने भनेर १ करोड ३५ लाख बराबरको डायलासिस मेशिन खरिद गरेपनि मेशिनहरु अलपत्र परेका छन् । नगरको स्वास्थ्य शाखा प्रमुख विनोद शाहका अनुसार डायलासिस सेवा चलाउने जनशक्ति तयार नभएकाले तत्काल सेवा सुरु गर्न नसकिएको बताए । नगरपालिकाले सांग्ला प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने दावी गरेपनि बजेटको आकार हेर्दा केन्द्रलाई निश्प्रभावी बनाउन नगरका जनप्रतिनिधिनै लागेको देखिन्छ । १६ जना कर्मचारी र १०० बेडको अस्पताल चलाउन सक्ने भौतिक संरचना भएको केन्द्रमा नगरले जम्मा ५ लाख ५० हजारमात्र वार्षिक बजेट छुट्याएको छ । जुन पैसाले आकस्मिक, वार्ड र डायलासिस चलाउन सम्भव हुने कुरै भएन ।
स्वास्थ्य केन्द्रमा अन्य समस्या जस्तै वर्षेनी वर्षायाममा डुबानको पनि समस्या रहेको छ । खोल्सामुनी बनाइएको केन्द्रमा असार साउनमा पहिलो तला पुरै डुब्ने समस्या रहेको छ । सो समस्या समाधान गर्न नगरपरिषद्मा प्रस्ताव लगेपनि मेयरले स्वीकृति दिएका छैनन् । ३० लाख लागनी गरेर अस्पताल आसपास बाढीनियन्त्रण र निकासको संरचना बनाउने भनिएपनि मेयरको उदासिनताले सो काम हुनसकेको छैन ।
नगरको अस्पताल अलपत्र, मेयरको लगानी निजी अस्पतालमा
नगर अस्पताल निरीह अवस्थामा चलिरहँदा नगरप्रमुख कृष्णहरि महर्जन भने स्वार्थ बाझिने गरि आफ्नै नगरबाट स्वीकृति लिएको निजी अस्पतालमा केन्द्रित भएका छन् । १९ जना काँग्रेसनिकट राजनीतिकर्मी एवं चिकित्सकहरु मिलेर तानपा १० मनमैजुमा सञ्चालनमा आएको अस्पतालमा मेयर महर्जनले २५ लाख रुपैयाँ लगानी गरेर शेयरधनी एवं सञ्चालक समेत रहेका छन् । अस्पतालका अध्यक्षका रुपमा ख्यातीप्राप्त चिकित्सक एवं नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसी रहेका छन् भने उनैका भतिजासमेत रहेका काँग्रेस नेता सरोज केसी, तानपा मेयर कृष्णहरि महर्जन लगायतको लगानी रहेका छन् । सो अस्पतालको पहिलो साधारण सभामा मेयर कृष्णहरी महर्जनले स्वास्र्थ बाझिने गरि उपस्थिति जनाएका छन् ।
मेयर आफै निजी अस्पताल सञ्चालनमा लाग्नुले उनले सरकारी स्वास्थ्य संस्थाको सवलीकरणका लागि लागि चासो नदिएको भन्ने शंकालाई आधार दिन्छ । मेयर लगायतको लगानी रहेको शुभम अस्पतालका अध्यक्ष डा. केदार नरसिंह केसीले स्वार्थ बाझिने गरि जनप्रनितिधिले निजी अस्पताल र स्कूलमा लगानी गर्नु सैद्धान्तिक रुपमा गलत भएपनि महर्जनको हकमा उनी मेयर हुनुभन्दा पहिले नै अस्पतालमा लगानी गरेको बताए । मेयर भइसक्दा पनि संचालक समितिमा बस्नु चाहीँ सहि हो भन्ने प्रश्नमा केसीले कुनै जवाफ दिएनन् ।