फिलिपिन्समा लकडाउन उल्लघंन गरेको भन्दै सजाय स्वरुप उठबस गराउँदा एक जनाको मृत्यु

बीबीसी, २४ चैत । कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३ सय पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको उनको परिवारले जनाएको छ ।

बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए । दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृत्यु भयो ।

कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ ।

जेनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन् ।

तर सजाय दिएको पाइए त्यो अस्वीकार्य हुने उनले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएका छन् । पीडितका एक आफन्त एड्रिएन लुसेनाले पेनारेडोन्डोको मृत्यु भएको जानकारी फेसबुकबाट दिएका थिए ।

३ सय पटक उठबस

उनका अनुसार पेनारेडोन्डो र लकडाउनसम्बन्धी नियम उल्लङ्घघन गर्ने अन्य केही व्यक्तिलाई प्रहरीले एकै पटक सकिनेगरी १ सय पटकसम्म उठबस गर्न लगाएको थियो ।

उनका अनुसार सबैले एकै पटक त्यसो गर्न नसके पूरा व्यायाम दोहोर्‍याउनुपर्ने आदेश दिइएको थियो । त्यसैले उक्त समूहका सबै जना ३ सय पटक उठबस गर्न उठबस गर्न बाध्य भएको बताइएको छ ।

पेनारेडोन्डो स्थानीय समयानुसार शुक्रवार बिहान करिब ६ बजे घर पुगेको उनका भाइले जानकारी दिए । सँगै बस्दै आएकी प्रेमिकाले स्थानीय सञ्चारमाध्यमलाई पेनारेडोन्डो शुक्रवार दिनभरि हलचल गर्न गाह्रो महसुस गरेको बताइन् ।

दिनभरि उनलाई हिँड्न असहज भइरहेको थियो र उनी बामे सरिरहेका थिए । तर उनले यो सामान्य शारीरिक दुखाइ मात्रै रहेको बताएको हुँदा मैले त्यति धेरै गम्भीर रूपमा लिइनँ, -रेचेलिन बाल्सले भनिन् ।

त्यसको भोलिपल्ट उनी अचेत भएर लडे र केही समयमा सास फेर्न छाडे । बाल्सले उनको सास फर्काउन छिमेकीहरूसँग सहयोग मागिन् । तर केही समयमै उनको मृत्यु भइसकेको थियो ।
यातना
त्यहाँका नगरप्रमुखले प्रहरीलाई गहन अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन् । उनले त्यस्तो सजायलाई यातनाूको सङ्ज्ञा दिएका छन् ।

केही समयअघि मात्रै ह्यूमन राइट्स वाचले फिलिपिन्समा नियम नमान्ने मानिससँग दुर्व्यवहार भएको जनाएको थियो ।

उक्त अधिकारवादी संस्थाले मानिसहरूलाई कुकुरको खोरमा हालेको अनि घाममा बस्न बाध्य पारेको पाइएको बताएको छ । बिहीवार गरिएको टेलिभिजन सम्बोधनका क्रममा फिलिपिन्सका राष्ट्रपतिले सर्वसाधारणहरूलाई लकडाउनसम्बन्धी नियमहरूको उल्लङ्घन नगर्न आह्वान गरेका थिए । उनले भने, “म हिचकिचाउने छैन।

म प्रहरी, सेना अनि गाउँका अधिकारीहरूलाई निर्देशन दिन्छु कि यदि समस्या उत्पन्न भयो वा हिंसा भयो र तपाईँहरूको जीवन जोखिममा पर्‍यो भने उनीहरूलाई गोली प्रहार गरी मार्नू ।”