तारकेश्वर नगरपालिकाका नगर प्रमुखद्वारा विकास निर्माण योजनाको अनुगमन

तारकेश्वर, माघ ५ । तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले ३ वटा वडामा भइरहेको विभिन्न विकास निर्माण योजनाको अनुगमन गरेका छन्। आ.व. २०८१ ८२ को पन्ध्रौं नगरसभाबाट विनियोजित नगरस्तरीय पूर्वाधार कार्यक्रम अन्तर्गत वडाहरुको योजनाहरु निरीक्षण गर्दै उनले स्थानीय आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।

वडा नं. २ को अनुगमन
वडा नं. २ मा नगरप्रमुख महर्जनले प्रवक्ता तथा वडा अध्यक्ष राधाकृष्ण खड्की, वडा सदस्यहरू किशोर भण्डारी र विशाल लामा, नगरपालिकाका इञ्जिनियर उज्वल न्यौपाने, सब इञ्जिनियर नृपेन्द्र श्रेष्ठ र बासु अधिकारी तथा स्थानीयवासीसँगै विभिन्न योजनाको अनुगमन गरेका छन् । वडा नम्बर २ मा निम्न योजनाहरुका नगरपालिकाले बजेट विनियोजन गरेको थियो ।

  • भ्याली पुल निर्माणका लागि ५० लाख।
  • तल्लो भेडीगोठदेखि धप्पु टोल जाने बाटो निर्माण।
  • पदमसाल चोकदेखि पानी फ्याक्ट्री तर्फको मूल सडक स्तरोन्नति।
  • सिम्लेस्वर माथि स्लाब कल्भर्ट निर्माणका लागि २५ लाख।
  • पिपल चौतारी निर्माण, ढुंगे सडक स्तरोन्नति, र अन्य परियोजनाहरूका लागि बजेट छुट्याइएको छ।

त्यस्तै नगरप्रमुख महर्जनले वडा नं. ९ मा सञ्चालित योजनाहरुको पनि अनुगमन गरेका छन् । वडा नं. ९ मा नगरप्रमुख महर्जनले वडा अध्यक्ष श्यामकृष्ण महर्जन, वडा सदस्यहरू, नगरपालिकाका प्राविधिक र स्थानीयवासीको टोलीसहित साङ्ला खोला कोरिडोरमा भइरहेको काम अनुगमन गरे। निर्माण कार्यलाई छिटो सम्पन्न गर्न उनले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन पनि दिएका छन् ।

वडा नं. ६ को अनुगमन
वडा नं. ६ मा नगरप्रमुख महर्जनले वडा अध्यक्ष घनश्याम श्रेष्ठ, वडा सदस्यहरू र प्राविधिक टोलीसँगै विभिन्न योजनाहरुको अनुगमन गरे। वडा नं ६ मा बस्नेतटार चोकदेखि गुरागाई दोबाटो हुँदै पुसल चोगाउँ जोड्ने सडक निर्माण र स्तरोन्नतिका लागि ३ करोड बजेट विनियोजन गरिएको छ।

तारकेश्वर नगरपालिकाले ३ वटा वडामा भइरहेको विकास निर्माण योजनाहरुलाई तीव्रता दिँदै छिटो सम्पन्न गर्ने योजना बनाएको छ। नगर प्रमुख महर्जनको नेतृत्वमा भएका अनुगमनहरूले योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।