तारकेश्वरमा २ दिने मनोसामाजिक अभिमुखिकरण सम्पन्न

तारकेश्वर, १ माघ । तारकेश्वर नगरपालिकामा मनोसामाजिक समस्याका विषयमा अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

नगरपालिकाको सभाहलमा २०८१ साल मंसिर २८ र २९ गते दुई दिन भएको मनोसामाजिक समस्या तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी तालिमलाई अपाङ्गता अधिकारका लागि महिला समूह तारकेश्वर ४ र तारकेश्वर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हो ।

कार्यक्रमको अध्यक्षता तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले गरेकी थिइन् । कार्यक्रममा महिला जनप्रतिनिधिहरू र नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

तालिमका क्रममा अपाङ्गता अधिकारका लागि महिला समूहका प्रतिनिधिहरूले मनोसामाजिक समस्या र अपाङ्गता सम्बन्धी प्रस्तुति दिएका थिए। सहभागीहरूले मनोसामाजिक अपाङ्गताको विषयमा आवश्यक ज्ञान र चेतना प्राप्त गरे।

यस कार्यक्रमले समुदायमा मनोसामाजिक समस्या र अपाङ्गता सम्बन्धी सहकार्य र जनचेतना अभिवृद्धिमा टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।