नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार लामो समय टिक्न नसक्ने संकेत गरेका छन्। सिन्धुपाल्चोकको सुकुटेमा आज आयोजित पत्रकार भेटघाटमा उनले यो सरकार अप्राकृतिक गठबन्धनबाट बनेको र सत्ता साझेदार नेपाली कांग्रेसभित्रै गहिरो असन्तुष्टि रहेको कारणले ढल्ने दाबी गरे।
उनका अनुसार सरकारले अलोकप्रिय काम गर्दैआएकाले आफ्नै गतिविधिले सरकारको आयु छोट्याइरहेको छ। उनले भने, “यो सरकार अन्ततः ढल्छ। हामीले त्यसका लागि धेरै प्रयास गर्नुपर्ने छैन। यसको आयु धेरै लामो छैन भन्ने मलाई लाग्छ।”
प्रचण्डले सरकार ढल्ने मिति तोक्न नसक्ने तर नेपाली कांग्रेसभित्रकै नेताहरू सरकारप्रति असन्तुष्ट रहेको बताए। “कांग्रेसभित्रका धेरै नेताहरू, यहाँसम्म कि संस्थापन पक्षमै रहेका व्यक्तिहरू पनि असन्तुष्ट छन्। यस्तो अवस्थामा यो सरकार सहज रूपमा टिक्न सक्दैन,” उनले भने।
सरकार गिराउने खेलमा नरहेको दाबी
पछिल्लो राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा हेरिरहेको भन्दै प्रचण्डले आफ्नो दल सरकार गिराउने वा सत्तामा जाने तयारीमा नरहेको स्पष्ट पारे। उनले भने, “हामी अहिले जनताको बीचमा संगठन सुदृढ गर्नेतर्फ लागेका छौं। स्थानीय तहदेखि विभिन्न सम्मेलन र भेलाहरू भइरहेका छन्, र जनताले त्यसलाई सकारात्मक रूपमा लिएका छन्। हामी अहिले रिल्याक्स अवस्थामा छौं।”
प्रधानमन्त्री नभएको अवस्थामा आफू सहज महसुस गरिरहेको बताउँदै उनले थपे, “यो सरकार टिकिरहोस् भन्ने हाम्रो उद्देश्य छैन। जब यो सरकारलाई अप्राकृतिक, अलोकतान्त्रिक, र असंवैधानिक भनिएको छ, त्यसपछि यसलाई टिकिरहन दिनु हाम्रो चाहना होइन।”
प्रचण्डले वर्तमान सरकारले गरेको काम कारबाहीले नै सरकारको आयु छोट्याइरहेको र यसले दीर्घकालीन टिकाउ सरकारको रूपमा काम गर्न नसक्ने स्पष्ट पारे।