भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारमा संक्रमण, ४२ सयको मृत्यु

काठमाडौं,२९ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।
लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ४८ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ३३ लाख ४० हजार ४५६ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९३ लाख ७६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ९ हजार ५५७ छ ।
यस्तै त्यहाँ एकैदिन ४२ सय संक्रमितको मृत्यु भएको छ ।दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५४ हजार २२५ पुगेको छ ।