विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १७ करोड नाघ्यो
काठमाडौं, १५ जेठ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आज (शनिबार) बिहानसम्ममा १७ करोड नाघेको छ ।एकै दिन चार लाख ८९ हजार पाँच सय ४८ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या १७ करोडबाट उकालो लागेको हो । जम्मा सङ्क्रमित १७ करोड एक लाख छ हजार पाँच सय २४ पुगेका छन् ।विश्वमा केही दिनयता दैनिक थपिने नयाँ बिरामीको सङ्ख्यामा कमी आएको छ । यसअघि एकै दिन सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने १० हजारभन्दा कम हुन सकिरहेको छैन ।
विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १५ करोड २० लाख ८८ हजार सात सय एक जना उपचारपछि निको भएका छन् । एक करोड ४४ लाख ८१ हजार ७२ जनाको उपचार जारी रहेकोमा ९३ हजार चार सय ५१ जनाको अवस्था चिन्ताजनक छ ।विश्वमा पछिल्लो २४ घण्टाभित्र ११ हजार पाँच सय ६६ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण विश्वमा ३५ लाख ३६ हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ ।
सङ्क्रमित सङ्ख्याको हिसाबमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन २१ हजार आठ सय १५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४० लाख २१ हजार छ सय ५९ पुगेको छ ।
सङ्क्रमितमध्ये दुई करोड ७७ लाख ६५ हजार तीन सय ७५ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । ५६ लाख ४७ हजार तीन सय ५२ जनाको उपचार जारी रहेकोमा छ हजार पाँच सय १२ जनाको अवस्था गम्भीर छ ।पछिल्लो २४ घण्टामा पाँच सय ९७ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म अमेरिकामा कोरोनाका कारण छ लाख आठ हजार नौ सय ३२ जनाको मृत्यु भइसकेको छ ।
छिमेकी मुलुक भारतमा एकै दिन एक लाख ७१ हजार सात सय २६ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा देखिएका सङ्क्रमितको भन्दा धेरै हो ।भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ७७ लाख १९ हजार चार सय ३१ पुगेको छ । दुई करोड ५१ लाख ७० हजार नौ सय ५२ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।



