एक संक्रमित भेटिएपछि मनमैजुको नमूना नगरमा सिल, नगरको आह्वान कार्यान्वयन भएन
तारकेश्वर, ३१ साउन । तारकेश्वर नगरपालिकाको वडा नं. १० र ११ को नमुना नगरमा १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा सिल गरिएको छ । तारकेश्वर १० को एकै घरका ५ जना बिरामी भेटिएपछि १ जनाको स्वाब संकलन गर्दा पोजेटिभ देखिएपछि स्थानीय त्रसित भएका छन् ।
सिल गर्ने कार्यक्रममा नमुना नगर टोलका अध्यक्ष इन्द्र गुरुङ तारकेश्वर १० नेकपाका संयोजक विनोद पौडेल लगायत सहभागी थिए । स्थानीयका अनुसार कोरोना संक्रमित परिवारका सदस्यहरुको स्वाब संकलन गरेर सबैको रिपोर्ट नेगेटिभ नआएसम्म उक्त क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको हो । उनीहरुले स्थानीय सरकारसँग तत्काल कोरोना संक्रमित सम्भावना भएका व्यक्तिहरुको पिसिआर परिक्षणको व्यवस्था मिलाउन माग पनि गरेका छन् ।
नगरको आह्वान कार्यान्वयन भएन
तारकेश्वर नगरपालिकाले शुक्रवारदेखि नै नगरका पसलहरु बन्द गर्ने र अनावश्यक रुपमा हिँडडुल गर्न बन्द गर्ने निर्णय गरेपनि कार्यान्वयन भएको पाइएको छैन । अत्यावश्यक बाहेकका अन्य पसलहरु पनि सञ्चालन भएका छन् भने मानिसहरुको चहलपहल पातलिन सकेको छैन ।