टोखामा ७७ जनालाई कोरोना संक्रमण, २ को मृत्यु, ३ जना सम्पर्कविहीन

तारकेश्वर, २ भदौ । तारकेश्वरसँग सीमा जोडिएको टोखा नगरपालिकामा हालसम्म ७७ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टोखा न.पा वडा नं ६ की एक महिला र वडा नं ९ की एकमहिला रहेका छन् । उनीहरुको कोभिड संक्रमणका कारण मृत्यु भएको नगरपालिकाले पुष्टि गरेको छ । त्यस्तै संक्रमितमध्ये २४ जनालाई निको भएको छ भने ५१ जना सक्रिय संक्रमित रहेका छन् ।
सबैभन्दा धेरै संक्रमण वडा नं १० मा, दुईवटा वडामा शून्य संक्रमण
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरपालिकाको वडा नं १० मा सबैभन्दा धेरै १५ जना संक्रमित भएका छन् । त्यसपछि वडा नं ६ मा ११ जनालाई संक्रमण पुष्टि भएको छ । वडा नं २ र ८ मा भने हालसम्म संक्रमित फेला परेका छैनन् । त्यस्तै वडा नं १ मा २ जना, वडा नं ३ मा ७ जना, वडा नं ४ मा ५ जना, वडा नं ५ मा ६ जना, वडा नं ७ मा ५ जना, वडा नं ९ मा ४ जना र वडा नं ११ मा ४ जनालाई संक्रमण देखिएको हो । नगरपालिकाको रहोबरमा परीक्षण गराउनेमध्ये १६ जना बाहिरका सेवाग्राही रहेका छन् ।
नगरपालिकाका अनुसार संक्रमित मध्ये २३ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जना संक्रमित सम्पर्कविहीन अवस्थामा छन् ।
२ भाद्र २०७७, मंगलवार