हनुमान मन्दिरका पुजारीको हत्यारा पत्ता लगाउन ‘न्यायका लागि मानव अधिकार’को सरकारसँग माग

काठमाडौं, १३ भदौ । मानव अधिकारवादी संस्था न्यायका लागि मानव अधिकारले रौतहटको हनुमान मन्दिरका पुजारीको हत्यारा लगायत गैर विभिन्न गैरन्यायिक हत्याका दोषी पत्ता लगाइ कार्वाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
शनिवार संस्थाका अध्यक्ष अधिवक्ता इन्द्र प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा चितवनका राजकुमार चेपांग, रौतहटका विजय महरा, झापाका रसिक मियाको सुरक्षाकर्मीको नियन्त्रणमा रहँदा अधिकतम बल प्रयोग गरि हत्या भएको उल्लेख गरिएको छ ।
ती घटनाको अनुसन्धान गर्न राज्य उदासिन रहेको आरोप लगाउँदै संस्थाले मानिसको सम्मानपूर्वक बाँच्ने अधिकार प्रत्याभूत नभएको आरोप लगाएको छ । देशभित्रको गतिविधि र दण्डहीनताले अन्तराष्ट्रिय स्तरमा नेपालको बदनाम भएको भन्दै संस्थाले दण्डहीनताको अन्त्य गरि दोषीहरुलाई अनुसन्धान र कार्वाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।