कोभिड–१९ बाट नगरबासीलाई बचाउन के गर्दैछ तारकेश्वर नगरपालिका ? उपमेयर के भन्छिन् ?

काठमाडौं, भदौ १५ । विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमण काठमाडौंमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । काठमाडौं उपत्यका भित्रको तारकेश्वर नगरपालिकामा पनि आइतबारसम्म १ सय ५ जनामा कोरोनाको संक्रमण फैलिसकेको छ ।
नगरमा संक्रमितको संख्यामा अघिल्लो हप्तादेखि दैनिकरुपमा वृद्धि हुने क्रम बढेको छ। यस्तो विषम परिस्थितिमा आफ्नो नगरबासीलाई बचाउन नगरले के गरिरहेको छ ? हामीले नगरका उपमेयर भवानी धिताललाई सोधेका थियौं ।
उपमेयर धितालले नगरले कोभिड १९ बाट नगरबासीलाई बचाउन सचेतनामूलक कार्यक्रमदेखि आइसोलेसनसम्मको व्यवस्था गरिएको बताएकी छन्।
उनका अनुसार प्रहरी साझेदारीमा टोलटोलमा माइकिङ्ग गर्ने, कोरोनाबाट कसरी बच्ने भनेर ठाउँठाउँमा पम्प्लेट बाड्ने, जानकारी मूलक ब्यानर टाँस्ने, मान्छेको भीडभाड हुने ठाउँमा ट्याङ्कीमा पानी राखिएको र लगायत सचेतनामूलक कार्यक्रम गरिएको छ।
त्यस्तै, नगरबासीलाई कोरोनाको कुनै लक्षण देखापरेमा त्यसको अवस्था हेरी होमआइसोलेसनमा बस्ने वा बाहिर हस्पिटल जाने त्यसको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उनले जानकारी दिइन्।
नगरले होम आइसोलेसनमा बस्नेलाई मास्क, पञ्जा, स्यानिटाइजर र पोषिलो खानाका लागि ५ हजार रूपैयाँ दिइएको छ।
‘नगरमै ५० वेडको आइसोलेसन बनाइएको छ। अझ यसलाई विस्तार गर्दै लैजाने योजनामा छौं,’ उनले भनिन्।
उनका अनुसार कन्ट्रयाक ट्रेसिङका लागि १ हजार किट किन्न प्रक्रिया अगाडि बढाइएको छ। समय परिस्थिति अनुसार नगरबासीलाई जोगाउन नगरले हरप्रयास गरिएको उनको दावी छ ।
साथै नगरबासीलाई उनले अनावश्यक रूपमा बाहिर नहिड्न आग्रह गरेकी छिन्। अत्यावश्यक कामले बाहिर निस्कन परे मास्क र पञ्जा र स्यानिटाइजरको प्रयोग गर्न सुझाएकी छिन्।