मनमैजु-१० का कोरोना संक्रमित परिवारको अनुरोधः कृपया संक्रमितलाई घृणा नगर्नुस्

तारकेश्वर, २२ भदौ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढेसँगै पछिल्लो समय देशैभर कोरोनाको त्रास उच्च अवस्थामा रहेको छ । कोरोना संक्रमित थपिँदै जाँदा उनीहरु बस्ने टोल, घर र समूदायमा नराम्रो खालको भेदभाव र अनावश्यक सामाजिक दूरी बढाउने कामहरु पनि भएका छन् । कुनैबेला र कतिपय अवस्था र स्थानमा हालपनि कुष्ठरोग, टिवी, एचआईभीका बिरामीलाई जस्तै कोरोना भाइरसका संक्रमितलाई पनि हेयको भावले हेर्ने गरेको पाइएको छ ।

तारकेश्वर १० को एक परिवारले पनि पछिल्लो एकमहिनायता यस्तै विडम्वना भोग्न परेको छ । उनीहरुको परिवारमै संक्रमण फैलिएपछि उनीहरुलाई टोलबासीले घृणा र हेयको भावले हेरेको तीतो अनुभव उनीहरुले बटुलेका छन् । सोमबार उनीहरुले नगरपालिकाका पदाधिकारीहरु समक्ष आफुहरुले भोगेको दुखद अनुभवहरु सुनाए । स्थानीय नवलचन्द्र शिवाकोटीले आफुहरुलाई मान्छेहरुले अपराधीको जस्तो किसिमले बेवास्ता र घृणा गरेको बताए । उनले भने ‘हामीले अपराध त गरेका छैनौं, यो कोरोना भाइरसपनि सामान्य रुघाखोकी जस्तै हो । अहिले हामीलाई ठिक भइसक्यो तैपनी मान्छेहरुले हेर्ने दृष्टिकोणमा विभेद छ । यस्तो विभेद गरेमा बिरामीहरुको मनोबल कमजोर हुन्छ ।’

सो अवसरमा तारकेश्वर नगरपालिकाका पदाधिकारीहरुले संक्रमितको परिवारलाई सान्त्वना दिएका दिए ।

शिवाकोटीकी पत्नी सीता सिवाकोटीले आफ्नो परिवारलाई नै संक्रमण भएको बताइन् । परिवारका ५ जना सदस्य संक्रमण भएपछि घरमा ठूलो त्रास र भय सिर्जना भएपनि त्यसलाई आत्मबलद्वार परास्त गरेको उनको अनुभव छ । उनले तारकेश्वर अनलाईनमार्फत कोहीपनि संक्रमितलाई आतंकित र त्रसित अहुन आग्रह गरिन् । उनले कोरोना संक्रमित जोकोही हुनसक्ने भन्दै संक्रमण भएका बिरामीलाई घृणा नगर्नपनि आग्रह गरिन् ।

उनले भनिन् ‘हामीले त यो बीचमा एउटा बेवास्ता र घृणा भोग्नपर्यो । तर, अहिले त यो सामान्य रुघाखोकीजस्तै भैसक्यो त्यसैले कसैले पनि संक्रमितलाई घृणा नगरौं बरु, उनीहरुलाई आत्मबल र हौसला दिउँ ।’

कोरोना संक्रमितलाई हेरेमा पनि कोरोना सर्ने जस्तो भ्रमका कारण समाजमा कोरोना संक्रमित र उनीहरुको परिवारलाई छिछिदूरदूर गर्ने प्रवृत्ति देखिएको छ । यो संर्कीण सोच हो । भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोना संक्रमणबाट जोगिन सहयोग हुन्छ । संक्रमित भैहालेपनि उपचार, व्यायाम र आत्मबलबाट सहजै कोरोनालाई परास्त गर्न सकिने स्वास्थ्य विज्ञहरु बताउँछन् । यस्तो अवस्थामा कोरोना संक्रमितलाई भेदभाव हुनुले उनीहरुको आत्मबल कमजोर हुने भएकाले सबैले उनीहरुलाई हौसला दिनुपर्ने आवश्यक्ता छ ।

नोटः संक्रमितहरुको तस्वीर उनीहरुको पूर्वस्वीकृति लिएर संकलन र प्रशारण गरिएको हो ।