काठमाडौंका २० सासंदले सरकारलाई दिए २६ बुँदे सुझाव

तारकेश्वर, २४ भदौ । काठमाडौं जिल्लाका संघीय सांसदहरुले राष्ट्रपतिदेखि सबै पदाधिकारी र कर्मचारीसम्मको तलब कटौती गरेर विपन्न नागरिकलाई खाना खुवाउन सरकारसँग माग गरेका छन् ।

काठमाडौंका २० जना सांसदहरुले मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको हो । उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेललाई सांसदहरुको तर्फबाट काठमाडौं क्षेत्र नं ६ का सांसद भिमसेनदास प्रधानले सुझावसहितको २६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ‘गरिब र विपन्नलाई खाना खान समस्या भएकाले यसलाई सम्बोधन गर्न राष्ट्रपतिदेखि सबै पदाधिकारी र कर्मचारीको तलब कटौती गरेर गरिब विपन्नलाई खाना खुवाउन सुझाव सहितको ज्ञापनपत्र दिइएको हो ।’ प्रधानले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

सांसदहरुले विभिन्न दुई चरणमा छलफल गरि त्यसको निश्कर्ष सहितको ज्ञापन पत्र सरकारलाई दिइएको हो । सांसहरुले आर्थिक वर्ष २०७७/०७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषमा विनियोजित रकम कोरोना रोकथामका लागि हरेक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउन खर्च गर्नुपर्ने सांसदहरुको माग छ ।

कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतलाई दिने भनिएको भत्ता यधाशीघ्र उपलब्ध गराउन, कोभिड र नन कोभिड अस्पताल छुट्टाछुट्टै रुपमा तोकेर अन्य रोगका बिरामीहरुलाई समेत उपचारमा सहज वातावरण बनाउन उनीहरुले माग गरेका छन् । पीसीआर प्रविधिलाई निःशुल्क बनाउन, हटस्पटहरुमा परीक्षण बढाउन उनीहरुको माग छ ।

लकडाउन तथा निषेधाज्ञालाई निरन्तर कायम नराखी विभिन्न मेला, पर्व, चाडपर्व आवश्यक्ताअनुसार कायम राख्न, तर नाकाबाट हुने आवतजावतलाई कडाइ गर्न र त्यसको अनुगमन गर्ने व्यवस्था मिलाउन पनि सांसदहरुले ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोना संक्रमितको उपचारका लागि सहज हुने गरी प्लाज्मा बैंकको व्यवस्था गर्न, रेम्डिसिभर औषधि सस्तो मुल्यमा उपलब्ध गराउन पनि माग गरिएको छ ।
छलफलमा काठमाडौं क्षेत्र नं ४ का सांसद एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापा, सत्तारुढ पार्टीका नेताहरु रामकुमारी झाँक्री, दिव्यमणिराज भण्डारी, अञ्जना बिसंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने, रेनुका गुरुङ तथा जनता समाजवादी पार्टीका राजेन्द्र प्रसाद श्रेष्ठ लगायत सहभागी थिए ।