बीपी जयन्तीका अवसरमा अनाथ बालबालिकालाई तरुण दलको राहत

काठमाडौं, २५ भदौ । १ सय ७ औं बीपी जयन्तीको अवसरमा नेपाल तरुण दल काठमाडौं जिल्लाले अनाथ बालबालिकालाई राहत वितरण गरेको छ ।

शाखाका सचिव दिनेश शाहको नेतृत्वमा अनाथ बालबालिकालाई राहत वितरण गरिएको हो । बिहीवार रविभवन अवस्थित एक बाल आश्रममा तरुण दल काठमाडौंका सचिव एवं काठमाडौ जिल्लाका तरुण दलका नेताहरुले राहत जुटाएर सहयोग गरेका थिए ।

कोभिड १९ का कारणले जनजीवन अस्तव्यस्त भएका र त्यसबाट प्रभावित बनेकाहरुलाई तरुण दल काठमाडौंले यसअघि पनि सहयोग गर्दै आएकोमा त्यसलाई जारी राखिएको तरुण नेता हरि तिमिल्सिनाले तारकेश्वर अनलाईनलाई बताए ।

स्वास्थ्य मापदण्ड पालना गर्दै आयोजना गरिएको राहत वितरण कार्यक्रममा काठमाडौका हरेक क्षेत्रबाट तरुणदलको नेतृत्व गर्ने पदाधिकारी र नेताहरुको उपस्थिति थियो । कार्यक्रममा तरुण नेताहरुले व्यक्तिगत रुपमा पनि अनाथ बालबालिकालाई सहयोग गरेका थिए ।