डा. केसीको सत्याग्रहमा ‘न्यायका लागि मानवअधिकार संजाल’को एक्येवद्धता
काठमाडौं, २२ असोज । आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल हुँदै जाँदा उनको जीवनरक्षाका लागि विभिन्न क्षेत्र, वर्ग र पेशाका मानिसले सरकारलाई दवाव बढाउन थालेका छन् ।
उनी अनशनरत शिक्षण अस्पताल बाहिर बिहीवार केसीप्रति एक्येवद्धता जनाउँदै ‘न्यायका लागि मानव अधिकार संजाल’का अभियन्ताहरुले धर्ना दिएका छन् । दिउँसो २ बजेबाट १ घण्टा धर्ना दिएर उनीहरुले सरकारलाई डा.गोविन्द केसीको माग पूरा गरेर यथाशीघ्र जीवन रक्षाका लागि माग गरेको छ ।
संजालका अध्यक्ष इन्द्रप्रसाद अर्याल, सदस्य बद्री भुसाल, कल्याण पोखरेल, हरि तिमिल्सिना, विष्णु महत लगायतका मानवअधिकारकर्मी र विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरु धर्नामा सहभागी भए । उनीहरुले डा. केसीले राखेका मागमा गम्भीर नभएको र पूर्वसम्झौताहरु पालना नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । १९ औं पटकसम्म उस्तै माग लिएर अनशन बस्न बाध्य पारिएको र स्वास्थ्य अवस्था जटिल हुँदा समेत सरकार गम्भीर नहुनुलाई उनीहरुले निरकुंशताको संज्ञा दिए ।
डा. केसीको जीवनरक्षाका लागि आफुहरुले शान्तिपूर्ण दवावमूलक कार्यक्रम जारी राख्ने धर्नामा सहभागी एकजना अभियन्ता हरि तिमिल्सिनाले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।