ओली क्याबिनेटको निर्णय तत्काल सच्याउन माधव नेपालको माग (विज्ञप्तीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पार्टीका अध्यक्ष केपी ओली नेतृत्वको क्याबिनेट निर्णयको विरुद्धमा उत्रिएका छन् । नेता नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उपचार खर्च नब्यहोर्ने सरकारी निर्णयको विरोध गरेका हुन् ।

‘मुलुक कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको र बिरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैं गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् ।’

उनले भनेका छन्, ‘संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुनेगरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।’