आवास क्षेत्रमा डोजर चलाउँदा बाइपासवासीको प्रदर्शन, किन भइरहेछ विरोध ?

काठमाडौं । सरकारले गैरकानुनी रुपमा आफ्नो आवास क्षेत्रमा डोजर लगाएको विरोधमा बालाजु बाइपासवासीले प्रदर्शन गरेका छन् ।

सरकारले सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगरे भन्दै उनीहरूले बिहीबार प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।
छलफलबाट टुँगो नलागेसम्म निवदेकहरुको अनधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुुनै पनि कार्य नगर्नु नगराउनु आदेश सर्वोच्चले दिएपनि सो आदेश कार्यान्वयन नभएको स्थानीयहरुको गुनासो छ ।

बाटोको दुवै क्षेत्रमा नेवारहरुको पुरानो बस्ती रहे पनि सर्वोच्चको आदेशविपरित बस्ती भत्काएर सडक विस्तार गरिएको स्थानीय रवीन्द्र कुमार श्रेष्ठले गुनासो गरे । उनले माथिको आदेश भन्दै एकतर्फी रुपमा स्थानीयलाई दमन गरेको बताए ।

उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले बालाजु बाइपासदेखि महेन्द्रपार्क क्षेत्रमा २६५ मिटर दुरी सडक विस्तार गर्न लागिएको जनाएको छ । स्थानीयको विरोधका बाबजुत पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेर सडक बिस्तारको काम भने भइरहेको छ ।

यता सो क्षेत्रका वडा सचिव कुसुम महर्जनले भने पहिलेनै मुआब्जा वितरण भइकाले सडक बिस्तारको काम भइरहेको जानकारी दिए ।

यसअघि स्थानीयहरुले शक्तिको आडमा जबरजस्ती घर भत्काएको भन्दै बालाजु चौकीमा समेत धर्ना दिएका थिए ।

बालाजु वाइपास क्षेत्रमा सडक विस्तारका क्रममा ३८ परिवार घरविहीन भएका छन् । पहिलो चरणमा १८ र दोस्रो चरणमा २० घर भत्काइएको थियो ।

काठमाडौं उपत्यकाका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड ०६४ अनुसार बालाजु (चक्रपथ क्रसिङ)देखि बालाजु बजार हुँदै नगरपालिका सीमासम्मको सडक प्रशाखा (कनेक्ट) सडक हो । मापदण्ड अनुसार प्रशाखा सडकको १४ मिटरभित्र निर्माण कार्य गर्न पाइदैन ।