क्यान्सर पीडितको उपचारका लागि वाग्मती प्रदेश सरकारले ५० हजार दिने

काठमाडौं । वाग्मती प्रदेश सरकारले क्यान्सर रोग पीडितका उपचारका लागि जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम अनुसार क्यान्सर रोग पीडितको उपचारमा ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

‘प्रदेशभित्रका स्थायीवासीलाई हामीले उपचारमा सहयोग गर्नेछौं । हामीले आवश्यक कार्यविधि निर्माण गरिसकेका छौं’, प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले भने । क्यान्सर रोग पीडितका लागि संघीय सरकारले समेत एक लाख रुपैयाँ उपचारका लागि उपलब्ध गराउँदै आइरहेको छ ।

मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक प्रशासनिक अधिकार प्रदान गर्ने निर्णय गरेको छ । ‘प्रदेश गौरवको आयोजनाको रुपमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक तथा प्रशासनिक नियमावली बैठकले पास गरेको छ ।

अब प्रतिष्ठान आफ्नो उद्देश्य अनुसार सञ्चालन हुनेछ ।’ ढुङ्गेलले प्रष्तिठानको केन्द्रीय कार्यालय हेटौंडामा रहने र आगामी शैक्षिक सत्रबाट प्रतिष्ठानले पठनपाठन सुरु गर्ने बताए ।

बैठकले प्रदेश यातायात सञ्चालन बोर्ड गठन गर्ने निर्णय गरेको छ । विशेषगरी प्रदेशभित्र सञ्चालन हुने विद्युतीय सवारीलाई व्यवस्थित गर्ने उद्देश्यले यातायात बोर्ड गठन गर्ने तयारी गरिएको उनले बताए ।