‘दीर्घरोगीका लागि काठमाडौं नेचुरोपेथी अस्पताल बरदान’-मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले दीर्घरोगीका लागि नेचुरोपेथी अस्पताल बरदान भएको बताएका छन् ।

काठमाडौंको बसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पतालको पहिलो वार्षिकोत्सव तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्राकृतिक चिकित्सा पद्दति (नेचुरोपेथी) दीर्घरोगीका लागि बरदानझैं रहेको बताएका हुन् । निरोगी र रोगी दुबै व्यक्तिका लागि नेचुरोपेथी उपयोगी रहेको उनको भनाइ छ ।

सबै अस्पताल धाएर नेचुरोपेथी अस्पताल आउनुभन्दा सुरुमै नेचुरोपेथीबाट उपचार गराउन उपयुक्त हुने मन्त्री श्रेष्ठको सुझाव छ ।

यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले नेचुरोपेथी उपचार गराएकै कारण आफू ८३ वर्षको उमेरमा पनि स्वस्थ रहेको बताए । त्यस्तै नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पराजुली र सोभियत ढकालले प्राकृतिक पद्दति अहिले सबैका लागि आवश्यक रहेकाले यससम्बन्धमा राज्यको पनि ध्यान जानुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा नेपाली चलचित्रका नायक रमेश उप्रेती तथा नेपाल प्रहरीका एसपी दानबहादुर कार्कीले प्राकृतिक चिकित्साप्रति विश्वास गर्ने भएकाले आफूहरू नियमित रूपमा नेचुरोपेथी सेवा लिने गरेको जानकारी दिए । कलाकारका लागि नेचुरोपेथी झनै आवश्यक रहेको नायक उप्रेतीको भनाइ छ ।

टोखा नगरपालिका–५ का अध्यक्ष जगन्नाथ ढकाल, जिल्ला विकास समिति लमजुङका पूर्वसभापति जीवनराज विष्ट, वरिष्ठ पत्रकार टंक पन्त लगायतले नेचुरोपेथी अस्पतालको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा अस्पतालका अध्यक्ष गणेश पाण्डेले नेपालमा दीर्घ रोगीहरूको संख्या बढेकाले प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको बताए । विभिन्न प्रकारका रोग र त्यसले मानिसलाई पारिरहेको समस्यालाई दृष्टिगत गर्दै नेचुरोपेथी अस्पतालले गुणस्तरीय सेवा दिइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा। यञ्जन गैरेले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गरिरहेको जानकारी दिए ।

विनाऔषधि र विनाशल्यक्रिया उपचार गरिने काठमाडौं नेचुरोपेथी अस्पतालमा प्यारालाइसिस, ब्रेन ह्यामरेज, नशा च्यापिएको, हड्डी खिइएको तथा कम्मर, गर्धन दुखाई, बाथ, उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम जस्ता रोगको उपचार गरिने उनको भनाइ छ । कार्यक्रममा समाजसेवी, राजनीतिज्ञ, पत्रकार, साहित्यकार, कलाकार, गायक गायीका लगायत को उल्लेखनीय उपस्थिति रहेको थियो। भने वार्षिक कार्यक्रममा रक्तदान कार्यक्रम समेत संचालन गरिएको थियो ।