पञ्चायती व्यवस्थामा रूख रोप्दा टाउको फुट्थ्यो, कम्युनिष्ट शासनमा पुल बनाउँदा करङ भाँचियो- पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो सरकारको कुनै योजना र आइडिया नभएको आरोप लगाएका छन्।

सरकारविरुद्ध आज शान्ति वाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।

तनहुँमा केहीदिन अघि पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिँदा उनको करङमा समस्या भएकोतर्फ लक्षित गर्दै उनले भने, “निर्दलीय पञ्चायती व्यवस्थामा रूख रोप्दा टाउको फुट्थ्यो । कम्युनिष्टको शासनमा पुल बनाउँदा करङ भाँचियो ।”

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका पौडेलले अहिले सरकारका कारण लोकतन्त्र, संघीयता, गणतन्त्र र समावेशिता संकटमा परेको बताअए । तर, कांग्रेसले आफ्नो नेतृत्वमा प्राप्त उपलब्धिका रुपमा रहेका संघीयता, लोकतन्त्र र समावेशिता संकटमा पर्न नदिने पनि बताए ।

त्यस्तै, उनले अहिले देशमा पक्षपात बढेको पनि बताए । गाउँगाउँमा विशेष अधिकार प्राप्त, कुनै कानुन नलाग्ने नयाँ कम्युनिष्ट वर्ग जन्माउन खोजिएको भन्दै सरकारले राज्यको ढुकुटीबाट कार्यकर्ता पोस्ने काम गरेको आरोप लगाए ।