तारकेश्वरमा दोस्रो चरणमा कोभिडको खोप दुई ठाउँबाट संचालन हुनेे
तारकेश्वर फागुन १९ तारकेश्वर नगरपालिकामा फागुन २३ गतेबाट सञ्चालन हुन लागेको दोस्रो चरणको कोरोना भाईरस कोभिड-१९ विरुद्धको खोप दुई ठाउँबाट संचालन हुनेे भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका जनप्रतिनिधि लगायतले प्रहरी अस्पताल महाराजगन्ज र शिक्षण अस्पताल महाराजगन्जबाट कोभिड विरुद्धको खोप लगाएका थिए । पहिलो चरणमा शिक्षण अस्पताल महाराजगन्जबाट १४९ जनाले कोभिड विरुद्धको खोप लगाएको तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले बताए । फागुन २३ गते आइतबारबाट सञ्चालन हुन लागेको दोस्रो चरणको खोप अभियानमा तारकेश्वर नगरपालिकाको वडा नं ६ को धर्मस्थली स्वास्थ्य चौकी र वडा नं ८ को वडा कार्यालयबाट खोप सेवा सन्चालन हुन लागेको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिए । तारकेश्वर नगरपालिकाले कोभिड विरुद्धको खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम समेत दिइसकेको छ । पहिलो चरणमा नगरपालिका भन्दा बाहिर खोप लगाउन जानुपर्ने समस्या थियो भने अहिले दोस्रो चरणमा नगर भित्रै खोप सेवा सन्चालन हुन लागेपछि नगर बासीलाई सजिलो हुने भएको हो ।