युरोपमा कोरोना खोप स्थगित, रगत जम्ने खतरा !

 काठमाडौं २८ ,फागुन । रगत जम्ने खतरा देखिएको भन्दै युरोपेली मुलुकले अस्ट्राजेनिकाका कोभिड विरुद्धको खोप लगाउन स्थगित गरेको छ ।
साथै थाईल्यान्डले पनि शुक्रबार खोप अभियान स्थगित गरेको हो । विश्वका धेरै स्वास्थ्य निकायहरुले भने अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप र अन्य सचेतना बढाइएको भन्दै कोभिडको त्रासबाट अमेरिकीलाई निराश हुन नपर्ने बताईएको बेलामा थाईल्यान्डले खोप अभियान नै स्थगित गरेको छ ।
वैज्ञानिकहरुले कोभिडलाई परास्त गर्न खोप एकमात्र भरपर्दो साधन रहेको बताइरहेका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड खोपका कारण मानिसको शरीरमा रगत जमेको भन्ने रिपोर्टका आधारमा बिहीबार डेनमार्क, नर्वे, आइसल्यान्ड, इटाली र रोमानीयाले अस्ट्राजेनिकाको खोप लगाउन रोकेका हुन ।
स्वास्थ्यसम्बन्धी नियामक निकायहरुले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको बताइएको छ अस्ट्रेलिया, मेक्सिको र फिलिपिन्सले भने खोप अभियान जारी राख्ने जनाएका छन् । क्यानडाले खोपका कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिएको भन्ने बारेमा ठोस प्रमाण नभेटिएको जनाएको छ ।
कोभिड–१९ खोप समितिका सल्लाहकार पियासाकोल साकोसतायाडोर्नले थाई नागरिकलाई खोप लगाउने कुरा सुरक्षित हुनुपर्ने बताउँदै खोप अभियान सञ्चालनमा हतार गर्न नहुने प्रतिक्रिया दिएका छन् ।