गल्छी–त्रिशुलि सडकखण्डको पिपलटारमा बाटो भत्काएरमात्र छाडियो, मुद्दा परेपछि कालोपत्रे भएन

नुवाकोट ४, चैत्र । नुवाकोटको गल्छी–त्रिशुली सडक खण्डको पिपलटार चोकमा सडक पिच गर्न भन्दै भत्काएर अलपत्र पारिएको छ । सडकमा मुद्दा परेकोले सडक निर्माण कार्य रोकिएको जनाइएको छ ।

उक्त सडक निर्माणको जिम्मेवारी तुण्डी कन्ट्रक्सनले पाएको छ । सडकको चौडाइ दाँया बाँया १५र१५ मिटर हुनुपर्ने भएपनि हाललाई २२ मिटर मात्र पिच गर्ने योजना भएको तर स्थानीयले ११ मिटर भन्दा बढी पिच गर्नको लागि मुआब्जाको माग गर्दा निर्माण कम्पनीले नदिने भनेपछि स्थानीयले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

 

मुआब्जाको माग गर्दै स्थानीयले सर्वोच्चमा मुद्दा दर्ता गरेपछि सर्वोच्चले सडक निर्माणमा रोक लगाएको थियो । तत्कालीन सिडिओ द्रोण पोखरेल, ठेकेदार कम्पनी र स्थानीय बिच छलफल हुँदा छलफलको सकारात्मक निर्णय नआएको बताइएको थियो ।

स्थानीय जनताले काम गर्न दिएनन् :आयोजना प्रमुख नारायणदत्त भट्ट

सडक पर्ने जमिनको एकपटक मुआब्जा पाइसकेको भएपनि स्थानीयले घरिघरि मुआब्जाको माग गर्दै सडक निर्माणमा अवरोध गरिरहेका छन् । सडक निर्माणको काम गर्ने इच्छा हुँदाहुँदै पनि जनताले काम गर्न नदिएर सडक पिच हुन नसकेको आयोजना प्रमुख नारायणदत्त भट्टले तारकेश्वर अनलाइन सँगको कुराकानीमा बताए ।

सडक भत्काएर छोडेको छ ,धुलोले घरभित्र समेत बस्न नसको जनताको गुनासो सुनाउँदा भट्टले पानी हाल्ने जिम्मेवारी आफ्नो नभएको बताए ।

“त्यतिखेरै पिच गर्न दिएको भए धुलो उड्ने पनि थिएन नि !”भट्टले भने ।

विदुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी भने उक्त सडकमा निर्माण कार्य सम्पन्न नहुँदासम्म पानी हाल्ने जिम्मेवारी ठेकेदार कम्पनीको नै भएको बताउँछन् ।

 

उक्त सडक निर्माण आयोजना २०७३ बाट सुरू भएको भएतापनि निर्माणको काम रोकिएको करिब एक वर्ष भन्दा बढी भइसकेको छ । पिपलटारका करिब १९३ जनाले मुआब्जाको माग दाबी सहित सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् ।

कानुनत पिडितले मुआब्जा पाउने वा नपाउने भन्ने विषयमा अदालतमा पनि विचाराधिन छ ‌।

अदालतको इजलासमा पनि राय बाजिएको छ। दुई जना न्यायाधीशले इजलासमा फरक फरक विचार प्रस्तुत गरेका छन् । एक न्यायधीशले मुआब्जा दिनुपर्ने बताएका छन् भने अर्को न्यायधीशले मुआब्जा दिन नहुने बताएका छन् ।